HamroNepalDainik.com
शिक्षासमाचार

सूर्य नेपालद्वारा वीरगंजका दुई विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण

०६  भदौ २०८२ वीरगंज
वीरगंजका दुई विद्यालयमा सूर्य नेपाल प्रा.लि.ले अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. ३२ स्थित श्री मनमिश्र आधारभूत विद्यालय र वडा नं. ३१ स्थित सोलकपुर माध्यमिक विद्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा ल्याब हस्तान्तरण गरिएको हो ।
सूर्य नेपालका यज्ञबहादुर आलेका अनुसार सोलकपुर माध्यमिक विद्यालयमा १५ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएससहितको ल्याब स्थापना गरिएको छ भने मनमिश्र आधारभूत विद्यालयमा १० थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएस उपलब्ध गराइएको छ । यसरी प्रविधिमूलक पूर्वाधार विद्यालयमै स्थापना भएपछि विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा डिजिटल शिक्षा सिक्ने अवसर मिल्ने बताइएको छ ।
मनमिश्र आधारभूत विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयमा प्रविधि प्रवेश गराउनु ठूलो उपलब्धि भएको टिप्पणी गर्नुभयो । उहाँले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो लगानीले बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा कम्पनीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
विद्यालयका शिक्षक र अभिभावकहरूले कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरूको सिकाइ अझ व्यवहारिक र प्रविधिमैत्री हुने प्रतिक्रिया दिएका छन् । उनीहरूले यस किसिमको सहयोगले विद्यार्थीलाई डिजिटल सीप, अनुसन्धान गर्ने क्षमता र भविष्यमा प्रतिस्पर्धी बन्ने योग्यता विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
सूर्य नेपालले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसपटक वीरगंजका विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गरेर विद्यार्थीलाई २१ औं शताब्दीको डिजिटल शिक्षासँग नजिक्याउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।
प्रविधि अभावका कारण ग्रामीण तथा सार्वजनिक विद्यालयका विद्यार्थीहरू पछि पर्ने अवस्था रहँदै आएकोमा यस प्रकारको सहयोगले विद्यालयहरूलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्न सहज बनाउने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिस्पर्धात्मक क्षमता र भविष्यको सम्भावनामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Related posts

वीरगन्ज २० को सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने पहिलो निर्णय गरियो

hamronepaldainik

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

hamronepaldainik

बिरगंज नापी कार्यालय बाट घुससहित दुई जना पक्राउ

hamronepaldainik
HamroNepalDainik