बारा । कामना सेवा विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सिमरा कलेजलाई एक थान ल्यापटप सहयोग गरेको छ।
बैंकको वीरगञ्ज शाखाका शाखा प्रमुख नरेश शर्माले सिमरा कलेजका प्रतिनिधिलाई ल्यापटप हस्तान्तरण गर्नुभएको हो। शैक्षिक गतिविधिमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीको सिकाइ प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त ल्यापटप उपलब्ध गराएको जनाएको छ।
ल्यापटप हस्तान्तरण गर्दै शाखा प्रमुख शर्माले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएको बताउनुभयो। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले कलेजलाई गरिएको सहयोगले शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो।
कलेज पक्षले कामना सेवा विकास बैंकले शैक्षिक विकासका लागि गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त ल्यापटपलाई विद्यार्थीको अध्ययन तथा शैक्षिक प्रयोजनमा प्रभावकारी रूपमा प्रयोग गर्ने जनाएको छ।
शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन बैंकबाट गरिएको यस्तो सहयोगले विद्यार्थी तथा शिक्षकलाई सूचना प्रविधिको प्रयोगमार्फत अध्ययन–अध्यापनलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
