वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धानप्रति रुचि बढाउने उद्देश्यले ‘Students Academic Quality Enhancement Program’ आयोजना गरिएको छ।
नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अनुसन्धान प्रस्ताव लेखन, शोधपत्र तथा थेसिस लेखन, पावरपोइन्ट तथा पोस्टर प्रस्तुतीकरण र सन्दर्भ लेखनलगायतका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. उमेश चौरसियाले विद्यार्थीको शैक्षिक विकासका लागि अध्ययनसँगै अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। उनले विद्यार्थीले आफूले सिकेको ज्ञानलाई व्यवहारिक तथा अनुसन्धानात्मक कार्यमा प्रयोग गर्न सकेमा व्यक्तिगत क्षमता विकाससँगै समाज र देशको शैक्षिक क्षेत्रमा योगदान पुग्ने बताए।
त्यसैगरी उप प्राध्यापक डा. संजय चौरसियाले विद्यार्थीको शैक्षिक यात्रामा अनुसन्धान र निरन्तर सिकाइको महत्वपूर्ण भूमिका रहने बताए। उनले विद्यार्थीलाई नयाँ विषयमा खोज तथा अनुसन्धान गर्न, प्रश्न गर्ने बानीको विकास गर्न र आफ्नो ज्ञानलाई व्यवहारिक क्षेत्रमा प्रयोग गर्न प्रेरित गरे। अनुसन्धानमार्फत नयाँ ज्ञान सिर्जना गर्न सकिने भएकाले विद्यार्थीले अध्ययनलाई केवल परीक्षामुखी नभई सीप र ज्ञानमुखी बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल केमिकल सोसाइटी मधेश प्रदेशका अध्यक्ष तथा सहायक प्राध्यापक अमरदीप पण्डितको सह–आयोजना तथा ठाकुरराम बहुमुखी क्याम्पस रसायनशास्त्र विभागका विभागीय प्रमुख सहप्राध्यापक डा. प्रमोद कुमार यादवको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई रिसर्च प्रपोजल, पेपर तथा थेसिस लेखन, प्रस्तुतीकरण र सन्दर्भ सामग्री तयार गर्ने तरिकाबारे प्रेरणामूलक जानकारी प्रदान गरिएको थियो।
‘Better Research, Brighter Future’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले विद्यार्थीलाई अनुसन्धानमा सक्रिय बनाउन तथा उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।
