HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

स्थानीय तह निर्वाचन फागुनमा, विदेशमा रहेका नेपालीलाई पनि ई–भोटिङको तयारी

Avatar

काठमाडौं — निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी थालेको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्ने तयारी आयोगले गरेको हो।

निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन सम्पन्न गर्नेगरी आयोग तयारीमा जुटेको जानकारी दिएका छन्।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ को व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधानलाई आधार बनाएर निर्वाचनको तयारी अघि बढाइएको आयुक्त सुब्बाले बताएका छन्।

आयोगले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था सुरु गर्ने तयारीसमेत गरेको छ। यसका लागि अध्ययन भइरहेको र प्रारम्भिक चरणमा केही जिल्ला तथा प्रदेशसभा निर्वाचन क्षेत्रबाट यस्तो व्यवस्था लागू गर्ने तयारी रहेको सुब्बाले बताएका छन्।

अन्तरजिल्ला मतदानका लागि प्रविधि र बजेट आवश्यक पर्ने भए पनि आयोग निर्वाचन प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीतर्फ लैजाने पक्षमा रहेको उनको भनाइ छ। आगामी निर्वाचनहरूमा क्रमशः ई–भोटिङ प्रणाली प्रयोग गर्ने दिशामा आयोगले तयारी गरिरहेको उनले बताएका छन्।

त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अवसर प्रदान गर्ने विषयमा आयोगले अध्ययन गरिरहेको छ। विदेशस्थित नेपाली दूतावास तथा नियोगमार्फत विद्युतीय मतदान गराउने सम्भावनाबारे समेत अध्ययन भइरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार प्रविधिको प्रयोग विस्तार गर्दै निर्वाचन प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउने दिशामा आगामी निर्वाचनका लागि तयारी अघि बढाइएको छ।

Related posts

लागुऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ

hamronepaldainik

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजाल र चौरसियाको अपील

hamronepaldainik

जनमत : बिरगंज महानगरपालिकाको नगर अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik