पर्सा । पकहाँ मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा बिहीबार सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्षका लागि ३६ करोड २९ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।
गाउँपालिका अध्यक्ष सुरेश प्रसादको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
गाउँसभामा उपाध्यक्ष सरफुन नेशा, प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
गाउँसभामा प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा पूर्वाधार निर्माण, खानेपानी, सरसफाइ, सामाजिक विकास र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ।
स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी विभिन्न विकास योजना तथा कार्यक्रम अघि बढाउने उद्देश्यसहित बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ।
बजेटमार्फत गाउँपालिकाको भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै गाउँपालिकाको आगामी विकासको कार्यदिशा तय गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
