२१ फागुन, । सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् ।
शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएका थिए ।
हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले सुर्खेत वीरेन्द्रनगरको मंगलगडी चोक – चोकमा टायर बालेर प्रर्दशन गरेका थिए।
व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जाँदै रहेको क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो ।
विवादकै क्रममा प्रहरीले कुटेको मृतकका दाइ नाता पर्ने देवीकृष्ण पाण्डेले बताए । ‘सुब्बाकुनाको चेकपोस्टमा ड्राइभरलाई प्रहरीले लाइसेन्स देखाउन भनेछन्, त्यही विषयमा सामान्य विवाद भएपछि प्रहरीले ड्राइभरलाई हानेका थिए । त्यसपछि मृतक भाइले चिट काटनुस किन हानेको भन्दा प्रहरीले उल्टो उनलाई पनि कुटपिट गरेछ’ उनले भने ।
नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर कालिकोट जाँदै गरेका उनलाई सुब्बाकुना चेकपोस्टका प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको छ, शरीरमा निलडाम जताततै छ’ पाण्डेले भने ।
हमालको शव सुर्खेत अस्पतालमा राखिएको छ । कालिकोटबाट आफन्त आउँदै गरेको जनाइएको छ ।
उता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले भने घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘कुटपिटपछि मृत्यु भन्ने हल्ला फैलाइएको छ, घटनाबारे विस्तृत विवरण बुझ्दैछौं । अनुसन्धानपछि सबै खुल्छ’ डीएसपी घर्तीले भने onlinekhabar