HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचारस्थानिय

३ वर्षमा बनिसक्नुपर्ने तिलावेपुल ६ वर्षमा पनि अधुरै

बिरगंज पर्सा ,कार्तिक ७ गते 

योजना कार्यालयले ठेकेदार कम्पनीलाई सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन भन्दै अन्यथा कारबाही अघि बढाइने चेतावनी दिएको छ ।

वीरगन्ज–ठोरी हुलाकी राजमार्गअन्तर्गत तिलावे खोलाको पुल निर्धारित समयमै निर्माण नहुँदा पर्साका बासिन्दाले सास्ती खेप्दै आएका छन् । सदरमुकाम वीरगन्जलाई ग्रामीण भेगसँग जोड्ने एक मात्र सडकको नयाँ पुल नबनेकै कारण बिहान र साँझको समयमा घण्टौँ ट्राफिक जाम हुने गरेको छ ।

वीरगन्जका उद्योग, व्यापारिक प्रतिष्ठान र भौतिक पूर्वाधार निर्माणलगायत कार्यमा ग्रामीण भेगबाट दैनिक हजारौँको संख्यामा सर्वसाधारण आउने गरेका छन् । यसले गर्दा जीर्ण भइसकेको साँघुरो पुुलमा जाम लाग्छ । ‘एक लेनको पुलमा सवारी जाम लाग्दा ३/४ घण्टा अड्कनुपर्छ, ब्याक गर्ने ठाउँ पनि हुँदैन,’ स्थानीय रामशंकर चौरसियाले भन्छन्, ‘नयाँ पुल नबन्दा धेरै सास्ती छ ।’

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोला पुलको ठेक्का सकार गरेको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले पहिलो कार्यादेशअनुसार तिलावे खोलाको पुल २०७५ जेठ २४ सम्ममा निर्माण व्यवसायीले निर्माण सम्पन्न गर्नुपर्ने जनाएको छ ।

पटकपटक थपिएको ठेक्काको पछिल्लो म्याद २०७८ भदौ ६ मा सकिएको छ । तर, हालसम्मको भौतिक प्रगति ६७ प्रतिशत मात्र रहेको योजना कार्यालयले जनाएको छ । पछिल्लो ६-७ महिनादेखि पुल निर्माणको काम ठप्प छ । योजना कार्यालयका इन्जिनियर दुर्गा मण्डलका अनुसार सन्तोषजनक कार्यप्रगति नदेखिएकाले ठेक्का तोड्ने विषयमा कात्तिक १ गते सार्वजनिक सूचनासमेत प्रकाशित गरिएको छ । सूचनामा ठेकेदार कम्पनीलाई सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन निर्देशन दिँदै अन्यथा कारबाही अघि बढाइने जनाइएको छ ।

पुल निर्माणको ठेक्का पप्पु र लुम्बिनीले संयुक्त रूपमा सकार गरे पनि सुरुमा वीरगन्जकै पप्पु कन्सट्रक्सनले निर्माणकार्य अगाडि बढाएको थियो । ‘पछिल्लो समय लुम्बिनी बिल्डर्सले निर्माण कार्य गर्दैआएको थियो,’ इन्जिनियर मण्डलले भने, ‘विगत ६ महिनादेखि लुम्बिनी पनि साइटमा देखिएको छैन, उक्त पुल जिल्लाकै मेरुदण्ड हो । सात दिनभित्र कस्तो जवाफ दिन्छ, त्यसका आधारमा कार्यालय अगाडि बढ्नेछ ।’ उनका अनुसार म्याद थपका लागि गत असोज २१ भित्र निर्माण व्यवसायीले सम्पूर्ण कागजात बुझाउनुपर्थ्यो तर कुनै चासो देखाएका छैनन् ।

जानकारका अनुसार ‘लो–बिड’ मा ठेक्का सकार गर्ने र समयमै काम नगर्ने प्रवृत्ति हाबी छ । कतिपय निर्माण व्यवसायीले ‘मोबिलाइजेसन’ खर्च लिएर घरजग्गामा लगानी गर्ने गरेका छन् । ठेक्का पूरा नगर्नेलाई नियामक निकायले कारबाही गर्न नसक्दा एउटै कन्स्ट्रक्सनले ठेक्का पाइरहेका छन् ।

 

Related posts

हिन्दू परिषद् नेपालका अध्यक्ष संतोष पटेल पदमुक्त

hamronepaldainik

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

hamronepaldainik

कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

hamronepaldainik
HamroNepalDainik