HamroNepalDainik.com
प्रदेशसमाचार

प्रदेश २ को नाम र राजधानीका लागि जसपा र लोसपाले बनाए समिति

६ पुस, जनकपुरधाम । प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्न सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकमत देखिएका छन् ।

प्रदेशको नाम मधेश नै राख्नुपर्ने भन्दै प्रदेश सरकारमा सहभागी जसपा र विपक्षी दल लोसपाले प्रदेश सभामा रहेका दलसँग वार्ता गर्नका निम्ति टोली गठन गरेका छन् ।

प्रदेश सरकारको तर्फबाट गठन भएको टोली संयोजकमा अर्थमन्त्री शैलेन्द्र साह र सदस्यहरुमा प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’, मनिष सुमन, सुरेश मण्डल र शैलेन्द्र यादव छन् ।

यो टोलीले मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेतासँग भेटेर छलफल गरेको छ ।

छलफलका क्रममा माओवादीका नेता एवं आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह मधेश नाममा सकारात्मक देखिएका टोली संयोजक मन्त्री साहले बताए ।

यस्तै, प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्न भन्दै अन्य दलसँग वार्ता गर्न लोसपाले पनि वार्ता समिति बनाएको छ ।

प्रदेश सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा बनाइएको समितिमा प्रदेशसभा सांसद परमेश्वर साह, जयनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रल्हाद गिरी सदस्य छन् ।

प्रदेश सभामा प्रस्तुत हुने नाम र राजधानीबारे प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि दलहरुसंग छलफल गर्न यो समिति बनाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताएका छन् ।

प्रदेश सरकार गठन भएको चार बर्ष बित्न लाग्दा पनि प्रदेशको नामाकरण हुन सकेको छैन् भने स्थायी राजधानी पनि कायम हुन सकेको छैन । पछिल्लो पटक प्रदेशको नामाकरण गर्नुपर्नेमा दलहरुको सक्रियता बढेको छ । onlinekhabar

Related posts

वीरगञ्जमा प्रदेश नं १ का होटल तथा पर्यटन व्यवसायीलाई भव्य स्वागत

hamronepaldainik

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

hamronepaldainik

घरेलु तथा साना उद्योग कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा

hamronepaldainik
HamroNepalDainik