वीरगंज १८ साउन ।
सखुवा प्रसौनी गाउँपालिकाले कार्य सम्पादन मुल्यांकन निष्पक्ष रुपमा नगरेको भन्दै त्यहाँका करारका कर्मचारीहरुले गुनासो पोखेका छन् ।
गाउँपालिका कार्यालयले आफ्नो आधिकारिक फेसबुक आईडीमा साउन १७ गते सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकन नतिजा निष्पक्ष नरहेको उनीहरुको व्यापक गुनासो बढेको छ । कार्य सम्पादन मूल्यांकनमा ८० प्रतिशत भन्दा कम नम्बर आएका कर्मचारीहरु मंगलबार भेला भई गाउँपालिकाले बदनियत बस कम नम्बर दिइ आफुहरुलाई हटाउन खोजिएको निस्कर्ष निकालेका छन् । उनीहरुले आफुहरु माथि भएको अन्याय र गलत निर्णय बदर गराउन चरणबद्ध आन्दोलन गर्ने पनि निर्णय गरेका छन् । कर्मचारीहरुको भेलाले बारुणयन्त्र सहयोगी अभ्यास राउत कम्कर संयोजक र कार्यालय सहयोगी उपेन्द्र पासवान सचिव रहने गरी २१ सदस्यीय संघर्ष समिति समेत गठन भएको छ ।
बैठकले सुरुमा साउन १८ गते बुधबार गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउने पनि निर्णय गरेको नवगठित संघर्ष समितिका सचिव उपेन्द्र पासवानले वताए । त्यसपछि जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मुख्य राजनैतिक दलहरु, मधेस प्रदेस सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निश्पक्ष जाचबुझ गरी न्याय दिलाउन ज्ञापन पत्र बुझाउने उनले बताए । गाउँपालिकाले गरेको कार्य सम्पादन मूल्यांकनमा २४ जनालाई ८० प्रतिशत भन्दा कम नम्बर दिएको छ । जसको नियम अनुसार करार अवधिको म्याद थप नहुने भएको छ ।