HamroNepalDainik.com
समाचार

वीरगन्ज आइपुग्यो साल्ट ट्रेडिङको युरिया मल

वीरगन्ज (पर्सा), १४ असार / युरिया मलको हाहाकार रहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको मल वीरगन्ज आइपुगेको छ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा शुक्रबारदेखि भारतको रक्सौलस्थित रेल्वे स्टेसनबाट ढुवानी गरी युरिया मल भित्रिन थालेको हो । कार्यालय प्रमुख अमोज लामिछानेका अनुसार शुक्रबारदेखि गोदाममा मल भित्रिन थालेको र हालसम्म १२ हजार ५ सय बोरा मल भित्रिइसकेको छ । ‘रक्सौलमा आइपुगेको १ रेल्वे र्‍याक युरिया मल ट्रकबाट ढुवानी गरी कर्पोरेसनको वीरगन्जथित गोदामसम्म ल्याइँदै छ,’ उनले भने, ‘एक रेल्वे र्‍याकमा २ हजार ५ सय मेट्रिक टन अर्थात ५० हजार बोरा मल हुन्छ, अर्को एक र्‍याक युरिया मल पनि रक्सौल रेल्वे स्टेसन हुँदै वीरगन्जसम्म आउने छ ।’
साल्टले ग्लोबल टेन्डरबाट खरिद गरेको २२ हजार मेटन युरिया मलमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले पाउने ५ हजार मेट्रिक टन मल रक्सौल हुँदै आइरहेको उनले बताए । आपूर्तिकर्ता स्विस सिंगापुर कम्पनीले युरिया मल कोलकाता बन्दरगाहसम्म ल्याएर त्यहा प्याकिङ गरी नेपालतर्फ मल पठाउँदै छ । बाँकी युरिया मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयहरुमा तीनै कार्यालयको नजिकको भारतीय सहरहरुमा रहेको रेल्वे स्टेसन हुँदै पुगिरहेको उनले बताए । वीरगन्जमा प्राप्त युरिया मलमध्ये माग भएका मातहतका कार्यालयहरु हेटौंडा, जनकपुर, गौर, मलंगवा, बनेपा, काठमाडौं, त्रिशूली, नारायणघाट, पोखरा, बाग्लुङलगायतका ठाउँमा पठाइने उनले जानकारी दिए । कान्तिपुरबाट

Related posts

अतिरिक्त हुलाक खारेजीकाे विराेधमा कर्मचारीहरु आन्दाेलित

hamronepaldainik

पर्साको ग्रामिणभेगमा रहेको खोलाबाट गिट्टी, बालुवा र ढुङ्गाको व्यापक तस्करी

hamronepaldainik

वीरगंजको रानीघाट स्थित गोदाममा प्रहरीको छापा, ९ सय १९ बोरा चामल बरामद

hamronepaldainik
HamroNepalDainik