HamroNepalDainik.com
समाचार

सरकारी सूचना वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्नामा

२९,जेष्ठ बिरगंज ।  सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारकाे विभेदकारी तथा स्वेच्छाचारी निर्णयकाे विराेधमा पर्सका सञ्चारकर्मीहरुले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् ।

धर्नामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गरेर जनताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए । उनले सरकारले पत्रकारहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत १८ गते जारी गरिएको पत्राचारका कारण देशभरका सञ्चारगृह प्रभावित भएको बताए । उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णय जनविरोधी रहेको भन्दै तत्काल फिर्ता लिन माग गरे ।दुई महिनादेखि जारी आन्दोलनप्रति सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले आवश्यकता परे जनदबाबसहित थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार प्रेसमाथि नियन्त्रण कायम गर्ने दिशामा अघि बढिरहेको आरोप लगाए । उनले २०६० सालमा तत्कालीन राजतन्त्रले लोकतन्त्रमाथि हस्तक्षेप गर्दा सबैभन्दा पहिले सञ्चारमाध्यमलाई निशाना बनाइएको स्मरण गर्दै अहिले पनि मिडियामाथि नै प्रहार हुन थालेको बताए ।

“यो सरकारको स्वेच्छाचारी र निरंकुश अभ्यासको प्रयास हो । तर मिडियाले सरकारलाई निरंकुश बन्न कहिल्यै दिँदैन,” अध्यक्ष खनालले भने । उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

Related posts

उम्मेदवार डंगोलप्रति जनलहर बढ्दै, स्वास्थ्य, शिक्षा तथा रोजगारी पहिलो प्राथमिकता : डंगोल

hamronepaldainik

सर्वसाधारणले जम्मा गरेको पैसा मिटरब्याजमा लगाएपछि, बैंक म्यानेजर पक्राउ

hamronepaldainik

पर्सामा अनियमति लोडसेडीगं विरुद्ध युवा नेताहरु द्वरा प्रदर्शन

hamronepaldainik
HamroNepalDainik