HamroNepalDainik.com
समाचारस्थानिय

सखुवा प्रसौनीको १७ औं अधिवेशन सम्पन्न, ४६ करोड ३७ लाख रुपैयाँ विनियोजन

३ असार, बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १७औँ अधिवेशनबाट पारित नीति, कार्यक्रम तथा बजेट बुधबार सार्वजनिक गरिएको हो ।

गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष यसवन्त यादवले गरेका थिए । अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।

उपाध्यक्ष महतोले नीति तथा कार्यक्रमले लिएको लक्ष्य कार्यान्वयन गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४६ करोड ३७ लाख ८२ हजार ५२० रुपैयाँ बराबरको आय–व्यय अनुमान गरेको जानकारी दिइन् ।

उनका अनुसार आयतर्फ सशर्त अनुदानबाट २१ करोड १६ लाख रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ४५ लाख रुपैयाँ, विशेष अनुदानबाट ४६ लाख रुपैयाँ, आन्तरिक स्रोतबाट ५३ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ११ करोड १३ लाख २० हजार ५२० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

उनले बजेट तथा कार्यक्रमको विस्तृत विवरण गाउँपालिका विकास योजनाको पुस्तिकामार्फत प्रकाशन गरिने समेत जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव, वडाध्यक्षहरू, गाउँसभा सदस्यहरू, लेखा शाखा प्रमुख सुमन साह तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यसअघि पर्साका तीनवटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेका थिए । बुधबार नै पटेर्वा सुगौली गाउँपालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेको भए पनि बजेट भने सार्वजनिक गरेको छैन ।

यसरी सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लामै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको छ ।

Related posts

पम्पम बिलडिङको गोदाममा पर्सा प्रहरीको छापा : करोडौंको भन्सार छलीका कपडा बरामद

hamronepaldainik

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

hamronepaldainik

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

hamronepaldainik
HamroNepalDainik