वीरगञ्ज –
पर्सामा छुट्टाछुट्टै दुई स्थानमा दुई बालबालिकाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका–१६ स्थित कञ्चनजङ्गा स्कुल अगाडी निर्माणाधीन घरछेउमा १० वर्षीय बालिकाको शव शनिबार फेला परेको हो।
महानगरपालिको वडा नं–१५ भिस्वामा डेरा लिई बस्दै आएका सरोज कुशवाहाकी छोरी रिजवाना खातुनको शव फेला परेको प्रहरीले जनाएको छ। बालिकाकी आमा मुस्लिम समुदायकी हुन् भने बुवा हिन्दू समुदायका हुन्। बिहान बालिकाको शव देखेपछि बालिकाका परिवारले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली पुगेर शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। बालिकाको हत्या भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको खनालले बताए।
यस्तै, शुक्रबार अपराह्न पर्साको जगरनाथपुर गाउँपालिकामा पनि १२ वर्षीय बालकको शव फेला परेको छ। जगरनाथपुर गाउँपालिका–६ सन्ठी टोल बस्ने नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टुको शव फेला परेको प्रहरीले जनाएको छ। गाउँ नजिकै रहेको उखुबारीमा गम्छाले बेरिएर फालिएको अवस्थामा बालकको शव फेला परेको हो। बालक पटेल ४ दिनदेखि हराएका थिए। तर, प्रहरीमा भने उनका अभिभावकले खबर गरेका थिएनन्। बालकको हत्या भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। onlinebirgunj