HamroNepalDainik.com
उधोग

व्यापार घाटा बढ्यो, रेमिट्यान्स घट्यो

७ असोज, काठमाडौं । बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण मुलुकमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको सोधनान्तर स्थिति अहिले झण्डै ३९ अर्ब रुपैयाँ ऋणात्मकमा पुगेको हो ।

शोधनान्तर स्थिति ऋणात्मक हुनु भनेको मुलुकले आम्दानीभन्दा बढी खर्च गर्नु हो । राष्ट्र बैंकका अनुसार वस्तु तथा सेवा आयात बढ्ने क्रमसँगै रेमिट्यान्स र वैदेशिक अनुदान घटेका कारण चालू खाता घाटामा गएको हो । अन्य महिनाको तुलनामासाउन र भदौमा दशैंतिहार लक्षित आयात बढ्ने भएकाले पनि शोधनान्तर स्थितिमा असर देखिएको जानकारहरु बताउँछन् । ।

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ शोधानान्तर घाटा ठूलो रुपमा बढ्दा यसले अर्थतन्त्रमा चुनौती थपेको बताउँछन् । यसले बैंकहरुमा लगानी योग्य रकम -तरलता) अभाव देखिने तथा ब्याजदर महंगो हुने समस्या देखिने उनले बताए ।

विदेशी मुद्राको सञ्चिती घट्यो

साउन महिनामा विदेशी मुद्राको सञ्चिती पनि एकदमै कमजोर देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ९.३ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

जेठ महिनासम्म विदेशी मुद्राको सञ्चिती १४ महिनाको वस्तु आयात धान्न सक्ने थियो । अहिले कुल विदेशी मुद्रा सञ्चिती गत असार महिनासम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

साउनसम्म आइपुग्दा ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।

साउन महिनामा कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ र अरु बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ ।

रेमिट्यान्समा गिरावट

कोरोना महामारीका बेला पनि नघटेको रेमिट्यान्स चालु आर्थिक वर्षको पहिलो महिनामा नै घटेको छ । २०७८ साउनमा जम्मा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा १८.१ प्रतिशतले थोरै हो । २०७७ साउनमा रेमिट्यान्सको वृद्धिदर २३ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउनमा ११ हजार ६२८ पुगेको छ ।

कर्जा बढ्यो र निक्षेपको अवस्था

राष्ट्र बैंकको अध्ययनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.६ प्रतिशतले घटेको छ । वाषिर्क बिन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २९.४ प्रतिशतले बढेको छ ।

२०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति -कृषि तथा गैर(कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

व्यापार घाटा बढ्यो, निर्यातमा पनि सुधार

प्रतिवेदन अनुसार साउनमा नेपालको व्यापार घाटा १ खर्ब २९ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब २६ करोड रुपैयाँ बराबरको यस्तो आयात भएको थियो । निर्यातमा सामान्य सुधार भए पनि त्यसले समग्र व्यापारमा भने असर पार्ने देखिएको छैन ।

साउन महिनामा निर्यात ११५.९ प्रतिशतले बढेर २० अर्ब ७६ करोड रुपैयाँको पुगेको छ । नेपालबाट भारतमा हुने निर्यात १६७ प्रतिशतले र चीनमा ४७.८ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

साउनमा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

केही खाद्यान्नको मूल्य वृद्धि उच्च

चालु आर्थिक वर्षको पहिलो महिनामा समग्र मुद्रास्फिती थोरै बढेको छ । साउन महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फिती ४.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिती ३.४९ प्रतिशत रहेको थियो । समग्रमा मूल्यवृद्धि स्वाभाविक नै रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । तर केही खाद्यान्नको मूल्यवृद्धि उच्च देखिएको उनले बताए ।

२०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेलको मूल्यवृद्धि २९.०७ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको १०.५१ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.१२ र यातायात उपसमूहको ९.४३ प्रतिशत देखिएको छ । तलब तथा ज्यालादर सूचकाङ्क ५.०५ प्रतिशतले बढेको छ ।

Related posts

वीउवासंघको ४७ औं वार्षिक साधरणसभा सम्पन्न

hamronepaldainik

महानगरसहित औद्योगिक करिडोरका तीन वटै स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

hamronepaldainik

नेपाललाई श्रीलंकासँग तुलना गर्ने अवस्था आएको भन्दै अध्यक्ष डा. गुप्ताद्वारा चिन्ता

hamronepaldainik
HamroNepalDainik