७ भदौ, काठमाडौं । कोभिड–१९ को महामारीको कारण सन् २०२० मा विभिन्न रोगविरुद्ध बालबालिकालाई दिइने खोपको ‘कभरेज’ दर घटेको छ । जसको कारण दीर्घकालीन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपांग हुने दर बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
यस बीचमा अधिकांश स्रोत, व्यक्ति र स्वास्थ्य प्रणाली कोभिड–१९ विरुद्धको काममा केन्द्रित भएकाले बाल्यावस्थामा दिइने खोप सेवामा उल्लेखनीय अवरोध भएको छ । महामारीको बेला खोप केन्द्रहरू बन्द भएका र सञ्चालन हुने समयावधि कम गरिएकाले पनि कभरेज दर घटेको विज्ञहरू बताउँछन् । त्यसैगरी कोभिड–१९ को संक्रमण हुने डर, निषेधाज्ञा र यातायात बन्दका कारण मानिसहरू स्वास्थ्य सेवा लिन हिचकिचाएको पनि विज्ञहरूको भनाइ छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा.झलक गौतम नेपालमा वर्षेनि एक वर्षभन्दा मुनिका ६ लाख २० हजार बालबालिकालाई १२ वटा रोग विरुद्ध नियमित खोप दिइने बताउँछन् । सन् २०१९ मा एक वर्षमुनिका ५ लाख ३७ हजार बालबालिकाले उक्त खोप लगाएका थिए । सन् २०२० मा खोप लगाउने बालबालिकाको सङ्ख्या घटेर ४ लाख ८३ हजार मात्र भयो । यो तथ्यले कोरोना महामारीको बेला खोपको कभरेज दर घटेको देखाउँछ ।
‘लकडाउनको शुरूआती महीनामा खोप केन्द्र बन्द भए तापनि पछि हामीले सबै खोप केन्द्र खुलाउन परिपत्र गरेका थियौं तर महामारीको डर तथा यातायातको असुविधाले धेरै आमाहरू खोप केन्द्रसम्म पुग्न सकेनन्’ खोप महाशाखाका प्रमुख डा. गौतम भन्छन् ।
नेपालमा पहिलो पटक लकडाउन हुँदा वि.सं. २०७६ चैतमा १६ हजारमध्ये ८ हजार खोप केन्द्र मात्र खुले, जसको कारण हजारां बालबालिका खोपको पहुँचबाट बञ्चित भए । सोही कारण जन्मिंदा बित्तिकै लगाउनुपर्ने क्षयरोग विरुद्धको बीसीजी खोप लगाउने बालबालिकाको कभरेज दर अघिल्लो वर्ष (सन् २०१९) भन्दा १६ प्रतिशतले घट्यो ।
सन् २०२१ मा उक्त खोपको कभरेजदर ७९ प्रतिशत पुगे तापनि सामान्य अवस्थाको (९१ प्रतिशत) तथ्यांकलाई भेटेन । सन् २०१९ मा भ्यागुते रोग, लहरे खोकी र धनुष्टंकारको लागि दिइने डीपीटी खोपको कभरेज दर ९० प्रतिशत थियो । सन् २०२० मा उक्त कभरेज दर ४ प्रतिशतले घटेर ८६ मा झर्यो । त्यसैगरी सन् २०२० मा कभरेज दर केही बढे पनि यो मात्रा ८७ प्रतिशत मात्रै पुगेको छ ।
सन् २०२० मा बच्चा जन्मिएको १५ महीनामा दिने दादुरा रुबेला विरुद्धको खोपको पहिलो मात्रा लिने बालबालिकाको खोप कभरेज दर ८४ प्रतिशत थियो । सन् २०२० मा उक्त कभरेज दर ८० प्रतिशतमा झर्यो । सोही वर्ष दादुरा रुबेलाको दोस्रो मात्राको कभरेजदर स्वाट्टै घटेको तथ्यांकले देखाएको छ । सन् २०१९ मा यो खोपको कभरेजदर ७३ प्रतिशत थियो । सन् २०२० मा उक्त कभरेजदर ३ प्रतिशतले ओरालो लागेर ७१ प्रतिशतमा झर्यो । यो कभरेजदर नेपाल सरकारले लक्ष्य राखेको भन्दा २६ प्रतिशतले कम हो ।
सन् २०१९ मा भन्दा सन् २०२० मा पोलियो, डीपीटी र हेपाटाइटिस बीको पहिलो मात्राको कभरेज दर ४ प्रतिशतले घट्यो भने तेस्रो मात्रा सन् २०१९ मा भन्दा सन् २०२० मा ८ प्रतिशतले घट्यो । यी खोपहरू भ्यागुते रोग, धनुष्टंकार, लहरेखोकी, हेपाटाइटिस बी र हेमोफिलस रोग विरुद्ध बालबालिका जन्मिएको ६ हप्ताभित्रमा लगाइन्छ ।
त्यस्तै सन् २०१९ मा ७६ प्रतिशत रहेको निमोनिया विरुद्ध लगाउने एफ.आई.पी.भी. खोपको कभरेज दर सन् २०२० मा ६९ प्रतिशतमा झर्यो । यो खोप पनि बालबालिका जन्मिएको ६ हप्ताभित्रमा लगाइन्छ । त्यस्तै सन् २०१९ मा ८१ प्रतिशत कभरेज दर रहेको पीसीभी खोपको कभरेज दर सन् २०२० मा ७८ प्रतिशतमा ओर्लियो । त्यसैगरी सन् २०१९ मा भन्दा सन् २०२० मा जापानी इन्सेफेलाइटिस विरुद्ध दिइने खोपको कभरेजदर ४ प्रतिशतले घट्यो ।