HamroNepalDainik.com
Uncategorizedसमाचार

ओलीले दिए स्पष्टीकरण : पीएचडी गरेकालाई मैले कहाँ होच्याएँ ?

१७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पीएचडी गरेका व्यक्तिलाई नहोच्याएको स्पष्टीकरण दिएका छन् ।

आइतबार काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तरसंवादका क्रममा उनले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे स्पष्टीकरण दिएका हुन् ।

गत महिना सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओलीले ‘पीएचडी भनेको एउटा विषयको थेसिस न हो त्यसलाई के के न ठान्छन्, मुर्खहरुको जमाना छ’ भनेका थिए । सोही विषयलाई लिएर ओलीले पीएचडी गर्ने मान्छेलाई होच्याएको भन्दै आलोचना भएको थियो ।

आफ्नो आलोचना भइरहेको बारे पनि थाहा पाएका ओलीले आइतबारको विद्यार्थीसँगको अन्तरसंवादमा भने त्यसको प्रष्टीकरणमा लामै समय दिए ।

ओलीका अनुसार एक जना पीएचडी गरेका व्यक्ति ओलीसमक्ष पुगेका थिए । उनीसँगको कुराकानीका क्रममा आफूले पीएचडी गरे पनि घमण्ड नगर्न आग्रह गरेको ओलीले बताए ।

‘जो बाबु म सँग आएका थिए । तपाईले यति राम्रो पढ्नुभयो, बहुत राम्रो छ । तर घमण्ड दिमागमा पस्न नदिनुस्, सधैं सिकिरहनुस्, नयाँ नयाँ कुरा जान्ने, सिक्ने कोशिस गरिरहनुस् । घमण्ड दिमागमा पस्यो भने अरु थोकलाई ठाउँ हुँदैन, घमण्ड भरिएपछि दिमागमा घमण्डमात्र हुन्छ, अरु पस्दै पस्दैन । नलेज पसाउनुछ भने घमण्डलाई स्थान दिनुहुन्न’ ओलीले ती व्यक्तिलाई आफूले दिएको सुझावबारे भने ।

त्यसपछि ओलीले अरस्तुको एउटा कथा सुनाए । जसको सार थियो, विद्वानले घमण्ड गर्न हुँदैन । यो संसार ज्ञानको भण्डार हो, हामीले सिकेको कुरा त त्यसको सानो अंश मात्र हो ।

त्यसपछि ओलीले पीएचडी गरेका तिनै व्यक्तिको कुरा जोडे । ‘उनले लुकेर भिडियो खिचेछन्, अरु सबै कुरा कटाए । पीएचडी गर्दैमा सबै कुरा जानिन्छ भन्ने कुरा होइन, त्यहीँ चाहिँ राखेर …’ ओलीले सम्पादित भिडियो मात्र सार्वजनिक गरिएको बताए ।

ओलीले भने, ‘मैले विचार गरेँ, ती चाहिँ खास विद्वान भइसकेका रहेछन्, मलाइ थाहा भएन । मैले त भरसक राम्रै बनाउन खोजेको हो, तर उनी त बनिसकेका रहेछन् । बनिसकेको घरमाथि इँटा थपेजस्तो भएछ । छतमा इँटा राखेजस्तो । जगमा राख्नुपर्ने छतमा राखेजस्तो भएछ, भाइरल ।’

ओलीले अगाडि भने, ‘मलाई आरोप आयो, आफू बज्रस्वाँठ छ, पढेलेखेको छैन, अनि पढेलेको मान्छे आयो भने पीएचडी गर्दैमा सबै जानिन्छ भनेर होच्याउँछ, भन्छन्, मैले कहाँ होच्याएँ ?’

अन्तिममा उनले थपे, ‘कोही पनि मान्छे ठूलो हुँदैन । उमेरले ठूलो होला, पद, ओहोदामा ठूलो होला, मान्छेका रुपमा ठूलो र सानो हुँदैन ।’साभार onlinekhabar

Related posts

एल.एस. न्यूरो हस्पिटलमा ‘आमा सुरक्षा’ कार्यक्रम संचालन

hamronepaldainik

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरकाे तयारी

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik