HamroNepalDainik.com
समाचार

वरिष्ठ सई सागरसमशेर राणा निलम्बित

धनुषा — मधेश प्रदेशमा प्रहरीबीचको आर्थिक लेनदेन विवादले नयाँ मोड लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई निलम्बन गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार, आर्थिक लेनदेनसम्बन्धी विवाद र मोबाइल संवाद सार्वजनिक भएपछि प्रारम्भिक कारबाहीस्वरूप राणालाई निलम्बन गरिएको हो।
प्रहरी स्रोतका अनुसार, तस्कर र प्रहरीबीच भएको भनिएको मोबाइल संवाद बाहिरिएपछि घटनाले चर्चा पाएको हो। उक्त संवादमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाम जोडिएको बताइएको छ।
संवादमा तस्कर राजीव महासेठले विभिन्न व्यापारीहरूबाट रकम असुली गरी प्रहरीसम्म पुर्‍याएको दाबी गरिएको छ। यद्यपि, डीआईजी थपलियाले यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूलाई बदनाम गर्न संवाद सार्वजनिक गरिएको आरोप लगाएका छन्।
यता, निलम्बित वरिष्ठ सई राणाले पनि आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। उनले विवादबाट जोगिन व्यापारीसँग सम्पर्क गरेको स्वीकार गरे पनि आफू निर्दोष रहेको बताएका छन्।
यसैबीच, सो घटनाले मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबीच मतभेद उत्पन्न भएको चर्चा छ, तर धनुषा प्रहरीले भने त्यस्तो कुनै विवाद नरहेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार, सो संवादमा अन्य प्रहरी कर्मचारीहरूको पनि नाम जोडिएको छ। धनुषाको इनर्वा नाकाबाट हुने तस्करी गतिविधिमा संलग्न रहेको आशंका गरिएको समूहबारे थप अनुसन्धान जारी रहेको छ।
प्रारम्भिक जानकारीअनुसार, दैनिक ठूलो संख्यामा मोटरसाइकल प्रयोग गरी भारत–नेपाल सीमामा अवैध सामान ओसारपसार हुने गरेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको। साभार टिभी बिरगंज

Related posts

बारामा एक जना महिला माथी एसिड प्रहार

hamronepaldainik

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ

hamronepaldainik

थप ३९१ जनामा कोरोना संक्रमण, ६८० जना संक्रमणमुक्त

hamronepaldainik
HamroNepalDainik