वीरगञ्ज, २३ असोज। ‘One Postal Network, Infinite Possibilities’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नाराका साथ पर्सामा विभिन्न कार्यक्रम गरी १५२औँ विश्व हुलाक दिवस मनाइएको छ।
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय, पर्साले विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। कार्यक्रममा कार्यालयका कर्मचारी तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो।
दिवसका अवसरमा हुलाक सेवाको महत्त्व, यसको प्रभावकारिता तथा नागरिकसम्म सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको थियो। बदलिँदो प्रविधि र सञ्चारको विकाससँगै हुलाक सेवालाई आधुनिक, भरपर्दो र सेवाग्राहीमैत्री बनाउनुपर्ने आवश्यकतासमेत औँल्याइएको छ।
हुलाक सेवा नागरिकबीच सूचना, पत्राचार तथा विभिन्न सामग्री आदानप्रदान गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ। आधुनिक सञ्चार प्रविधिको विस्तारसँगै यसको सेवा प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिइएको छ।
विश्व हुलाक दिवसले हुलाक सेवाको योगदानलाई स्मरण गर्दै यसको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहप्रति थप प्रतिबद्ध हुन प्रेरित गर्ने विश्वास गरिएको छ।
