HamroNepalDainik.com
समाचार

पर्सागढी–१ मा रिमा यादवको घरदैलो अभियान तीव्र, कोईलाभार मन्दिरबाट शुभारम्भ

पर्सा। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले पर्सागढी नगरपालिका–१ मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै चुनावी अभियानलाई थप तीव्रता दिएकी छन्। वडा नम्बर–१ का विभिन्न टोल–बस्तीमा पुगेर उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा आशीर्वाद लिएकी हुन्।
घरदैलो कार्यक्रमको सुरुवात स्थानीय धार्मिक आस्थाको केन्द्र कोईलाभार मन्दिर मा पूजा–अर्चना गरेर गरिएको थियो। पूजा–अर्चनापछि यादवले स्थानीय बासिन्दासँग संवाद गर्दै आफ्नो चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिएकी थिइन्।
घरदैलोका क्रममा स्थानीय मतदाताले ढाका टोपी लगाइदिएर, दुवोको माला तथा खादा ओढाएर उम्मेदवार यादवको भव्य स्वागत गरेका थिए। कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइदिँदै शुभकामना व्यक्त गरेका थिए। यस क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षा खुलस्त रूपमा राखेका थिए।
उम्मेदवार यादवले आफू निर्वाचित भएमा पर्सागढी क्षेत्रमा आधारभूत पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, महिला तथा युवाका लागि रोजगारी सिर्जना र कृषकलाई सहज बजार व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता जनाइन्। जनताको विश्वास र साथ पाएमा भ्रष्टाचाररहित, पारदर्शी र जनउत्तरदायी नेतृत्व दिने उनले दाबी गरिन्।
घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि, समाजसेवी र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै स्थानीय नेताहरूले रिमा यादव इमानदार, कर्मठ र विकासप्रेमी उम्मेदवार भएकाले उनलाई विजयी गराउन सबै एकजुट हुन आग्रह गरेका थिए।
पछिल्ला दिनहरूमा पर्सा जिल्लाका विभिन्न गाउँ–टोलमा रिमा यादवको घरदैलो अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको पार्टीले जनाएको छ।

Related posts

कालिकामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ यादव

hamronepaldainik

बेवारिसे अवस्थामा १२० केजी गाँजासहित भारतीय ग्याँस ट्याङकर प्रहरीको नियन्त्रणमा

hamronepaldainik

क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न।

hamronepaldainik
HamroNepalDainik