३० असार, काठमाडौ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात पेश गरी नियुक्ति लिएको आरोपमा निलम्बन गर्दै छानबिन समिति गठन गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो ।सरकारले छानवीन समिति गठन गर्ने निर्णय गरेसँगै बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ बमोजिम ओझा स्वतः पदमुक्त (निलम्बित) भएका छन्। बीमा क्षेत्रमा सुधारका योजना सहित अगाडी बढेका अध्यक्ष ओझालाई वीमा कम्पनीहरुको दवावमा निलम्वन गरिएको हुन सक्ने अनुमान छ ।
समितिको संरचना र छानबिनको आधार
मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिमा पूर्वन्यायाधीश कृष्ण गिरीका साथै कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन्। यो समितिले अध्यक्ष ओझाको कार्यक्षमता, पदीय जिम्मेवारी पालन र खराब आचरणका विषयमा छानबिन गर्नेछ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा १ को खण्ड ‘ग’ र उपदफा २ अनुसार सरकारले अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्नुपरेमा उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि सरकारले यो प्रक्रिया अगाडि बढाएको हो।

