HamroNepalDainik.com
समाचार

खटाएको ठाउँमा नजाने कर्मचारीको सूची बनाइँदै

१४ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची बनाउन थालेको छ ।

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगर्ने क्रम बढेको छ । यस्ता कर्मचारीहरुको नामावलीसहितको विवरण संकलन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताए ।

विवरण संकलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘हामीले सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइसक्नुभएको छ । तर, केही कर्मचारीले मात्रै विभिन्न बाहानाबाजी गरेर हाजिर गर्नुभएको छैन । उहाँहरूलाई तोकिएको कार्यालयमा हाजिर गर्न हामीले पटक–पटक ताकेता पनि गरिरहेका छौं’, मन्त्री गुप्ताले भने ।

मन्त्रालयले ताकेता गर्न छोडेर उनीहरूको विवरण सङ्कलन गरिरहेको उनले बताए । खटाएको ठाउँमा गएपनि हाजिर गर्न नदिने स्थानीय तहमाथि पनि कारबाही गर्ने उनको भनाइ छ ।

जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको मन्त्री गुप्ताले बताए ।

‘गाउँपालिका वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जाने तर सम्बन्धित पालिकाका प्रमुखले हाजिर गर्न नदिने पुरानो परिपाटी राम्रो हैन, अब त्यस्तो हर्कत गर्ने पालिकालाई हाम्रो मन्त्रालयबाट दिइने सेवा सुविधामा रोक लगाउँछौं’, उनले भने, ‘जुन कर्मचारी आफैं हाजिर हुन जाँदैनन् तीनलाई पनि मन्त्रालयले कारबाही हुन्छ ।’

गाउँ वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दा जनताले सेवासुविधा नपाउने भएकाले मन्त्रालय निर्मम भएर अघि बढ्नुपर्ने अवस्था आएको उनले बताए ।

कोही कर्मचारीहरु खटाएको ठाउँमा जानै नसक्ने समस्या भए उनीहरूलाई सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ ।

कर्मचारी नपुग भएको कार्यालयहरुमा मन्त्रालयको ध्यान पुगेको बताउँदै मनत्री गुप्ताले अब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्ने दाबी दोहोर्‍याए । विभिन्न मन्त्रालयमा थुप्रिएर बसेका कर्मचारीहरूलाई पालिकाहरूमा पठाउने काम सुरू भइसकेको उनले जानकारी दिए ।अनलाइन खबर

Related posts

सबै समाजवादी एवं प्रगतिशिल शक्तिहरु एकजुट हुनु पर्ने पूर्व प्रधानमन्त्री खनालको भनाई

hamronepaldainik

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान, ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही

hamronepaldainik

छठमा हिन्दुमाथि आक्रमण गर्ने विरुद्ध वीरगन्जमा जुलुस प्रर्दशन : मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको माँग

hamronepaldainik
HamroNepalDainik