HamroNepalDainik.com
समाचार

युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवार र स्मृती कोषमा महानगरको सहयोग

वीरगञ्ज । युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरण पोषणका निमित्त वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

सोका निमित्त आज सर्राफकी छोरी श्रेयालाई जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

महानगरका मेयर सिंहको कार्यकक्षमा बोलाएर श्रेया र सर्राफकी श्रीमती पूजाकुमार साहलाई चेक हस्तान्तरण गरिएको थियो ।

चेक हस्तान्तरण गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले आगामी दिनमा पनि स्वर्गीय पत्रकार सर्राफको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सर्राफ एक होनहार तथा इमानदार पत्रकार रहेको बताउँदै यादवले उनको विरासतलाई अन्य सञ्चारकर्मीहरूले निरन्तरता अगाडि बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै वीरगञ्जका मेयर सिंहले सर्राफको निधन पश्चात् उनको परिवार बिचल्लीमा पर्न नदिन आफूले हरेक सम्भव प्रयास जारी राखेको बताए । सोही प्रयास स्वरूप आज पाँच लाख रुपैयाँ उपलब्ध गराइएको र आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने उनले पनि प्रतिबद्धता व्यक्त गरे ।

यसैबिच नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले सर्राफको स्मृतिमा स्थापना गरेको स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारको सञ्चय कोषका लागि पनि मेयर सिंहले १० लाख रुपैयाँ उपलब्ध गराएका छन् । उनले आजै एक कार्यक्रमका बिच रकम बराबरको चेक पनि महासङ्घका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष सञ्जीव मिश्रलाई हस्तान्तरण गरेका छन् ।

पत्रकार सर्राफको गत वर्ष मङ्सिर १५ गते हृदयाघातका कारण निधन भएको थियो ।

Related posts

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

hamronepaldainik

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik