HamroNepalDainik.com
प्रदेशसमाचार

बालबालिकाका लागि काल बन्दै प्रदेश-२ का पोखरी

१८ असोज, सप्तरी । ५ असोजमा यहाँ एकै दिन तीन जनाको डुबेर मृत्यु भयो । यसमध्ये दुई जना बालिका थिए भने एक युवती । खडक नगरपालिका वडा नम्बर ८ मुसहरनियाँमा तीन वर्षीया एलिजाकुमारी चौधरीको घर नजिकैको आफ्नै पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो भने तिलाठी कोइलाडी गाउँपालिका–२ लौनिया बस्ने १२ वर्षीया सबना खातुनको डुबेर ज्यान गयो । यसै दिन महादेवा गाउँपालिका–४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदाको पनि पोखरीमा डुबेर मृत्यु भयो ।

भोलिपल्ट ६ असोजमा पनि महादेवा गाउँपालिकामै एक बालिकाको डुबेर ज्यान गयो । वडा नम्बर २ अकबरपुर निवासी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो ।२८ जेठ दिउँसो झन् ठूलो दुर्घटना भयो । धनुषाको मुखियापट्टी मुसहरनियाँमा पाँच बालिकाको डुबेर ज्यान गयो । वडा नम्बर ६ स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्रकुमारी भगत, १३ वर्षीय मन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता सहनीको मृत्यु भयो । उनीहरू बाख्रा चराउन जाँदा पोखरीमा नुहाउन पसेका थिए ।

४ साउनमा सर्लाहीमा तीन जनाको डुबेरै मृत्यु भयो । बलवा नगरपालिका–९ घर भई हरिपुरवा नगरपालिका–७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी सात वर्षीया छोरी चाँदनी ठाकुरको नहरमा, गोडैता नगरपालिका–८ बस्ने २५ वर्षीय विकासकुमार दासको पोखरीमा र वागमती नगरपालिका–६ बस्ने ४२ वर्षीया अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर ज्यान गयो ।

पानीमा डुबेर अनाहकमा ज्यान गुमाउने केही दृष्टान्त मात्रै हुन् यी । प्रदेश–२ का जिल्लामा दिनहुँजसो यस्ता घटना भइरहेका छन् । धेरैजसो घटनामा बालबालिकाले ज्यान गुमाइरहेका छन् ।

पोखरी, नदी, तलाउ, नहर सहितका जलाशयमा डुबेर मृत्यु हुने क्रम पछिल्लो समयमा बढेको छ । यसबाहेक बाटोमा भएका खाल्डामा समेत डुबेर बालबालिकाले जीवन गुमाइरहेका छन् । प्रदेशका ग्रामीण क्षेत्रमा यस्ता घटना बढी भइरहेका छन् ।

प्रदेश–२ को सामाजिक अवस्था हेर्ने हो भने हरेक गाउँमा पोखरी छन् । कुनै गाउँमा त दुईदेखि तीन वटा र त्योभन्दा बढी पनि पोखरी छन् । पोखरी यो समाजकै अंग हो । ग्रामीण क्षेत्रका मानिसले लुगा, भाडा धुने, नुहाउने, भैंसी सहितका चौपायालाई नुहाउने काम पोखरीमै हुन्छ ।

यस बाहेक सिंचाइका लागि प्रयोग गरिने नहरमा समेत मानिस नुहाउने र अन्य पानी चाहिने दैनिक कामकाज गर्दै आएका छन् । यस बाहेक सांस्कृतिक कारणले पनि मधेशका पोखरी समाजका लागि अनिवार्य ठाउँहरू हुन् जहाँ अर्घ दिने, नुहाउने, बत्ती बाल्ने लगायतका सांस्कृतिक कामहरू हुने गर्छन् ।

यही सामाजिक प्रक्रियाका कारण ठूलो मान्छेसँग जाँदाजाँदै बालबालिका पनि सानै उमेरमा पोखरीमा पुग्ने गर्छन् र कतिपय बेला यस्ता दुर्घटना हुने गर्छ । यस बाहेक मधेशको सामाजिक परिवेश अनुसार गाउँका स–साना बालबालिका खेल्दाखेल्दै पनि नजिकैको पोखरीमा पुग्छन् र बालसुलभ अज्ञानताको परिणाम ठूलो क्षति हुनपुग्छ ।

दुई वर्षमा झण्डै ३०० को डुबेर मृत्यु

डुबेर मृत्यु हुने संख्या पछिल्ला वर्षमा एक्कासी बढेको छ । पछिल्लो दुई वर्षको तथ्यांक हेर्ने हो भने डरलाग्दो स्थिति छ । प्रहरीले उपलब्ध गराएको पछिल्लो दुई आर्थिक वर्ष यताका २६ महीना (आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को दुई महीना गरेर दुई वर्ष दुई महीना) को तथ्यांक अनुसार यो प्रदेशमा २८२ जनाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा १०८ बालक, ७७ बालिका गरी १८५ बालबालिका छन् । मृत्यु हुने बालबालिकामा अधिकांश १० बर्ष मुनिका छन् । यस बाहेक ६५ जना पुरुष र ३२ जना महिलाको पनि डुबेर मृत्यु भएको छ ।

चालु आवकै दुई महीना १२ दिनमा ७९ जनाको डुबेर मृत्यु भएको छ । यीमध्ये ५२ जना बालबालिका नै छन् । ३२ बालक र २० बालिकाको मृत्यु हुँदा पाँच वर्ष मुनिका १२ बालक र ९ बालिका तथा ६ वर्षदेखि १८ वर्षभित्रका २० बालक र ११ बालिका छन् ।

साउन, भदौ र १२ असोजसम्मको तथ्यांक अनुसार, सबैभन्दा धेरै सप्तरीमा १९ जनाको मृत्यु भएको छ । यसमा ६ बालक र पाँच बालिका छन् । धनुषामा पाँच बालक र तीन बालिका सहित १४ जना, रौतहटमा एक बालक एक बालिका सहित ११, पर्सामा तीन बालक र चार बालिका सहित ११, सिरहामा ९ बालक र एक पुरुष गरी १०, बारामा तीन बालक सहित सात जना, सर्लाहीमा एक बालक, एक बालिका सहित पाँच जना र महोत्तरीमा दुई बालकको मृत्यु भएको छ ।आर्थिक वर्ष २०७७/७८ मा ११७ जनाको डुबेर मृत्यु भएको छ । यो आवमा ३८ जना बालक, ३६ जना बालिका, २६ जना पुरुष र १७ जना महिलाको डुबेर ज्यान गएको छ ।

Related posts

एसइईको नतिजा आज साँझ सार्वजनिक गरिने

hamronepaldainik

कक्षा १० का बिधार्थीहरु लाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न।

hamronepaldainik

मिडिया काउन्सिल मधेश प्रदेशकाे कार्यक्रममा ३ पत्रकार संगठनकाे विराेध

hamronepaldainik
HamroNepalDainik