HamroNepalDainik.com
समाचार

ठोरी गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न

साउन १८
पर्साको ठोरी गाउँपालिकाको छैटौं गाउँसभा आइतवार सम्पन्न भएको छ । गत असार ३० गते सुरु भएको सभामा अघिल्लो आर्थिक बर्षमा प्रस्तुत भएको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै बहुमत गाउँसभाले विरोध जनाएपछि स्थगित भएको सभा आज सम्पन्न भएको हो ।  गाउँकार्यपालिका कार्यालय घ्याङडाँडामा सम्पन्न सभाले आर्थिक बर्ष २०७८/0७९ का लागि ४७ करोड ७० लाख ७२ हजार रुपैयाँ बराबरको बजेट पारीत गरेको छ ।  गापा अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष २०७८/0७९ का लागि विनियोजन बिधेयक प्रस्तुत गर्दै गापा उपाध्यक्ष शान्तिमाया थिङ्ले चालुतर्फ ६ करोड ९४ लाख ५३ हजार र पुँजीगत तर्फ ४० करोड ७६ लाख १९ हजार बजेट पेस गरेकी थिइन ।  बजेटले ठोरीका सामुदायिक विद्यालयमा कार्यरत सबै बालविकास सहयोगी , कार्यालय सहयोगी , कार्यालय सहायक र स्वयमसेवक शिक्षकको तलबमा कम्तिमा २ हजारदेखि २३३ प्रतिशत सम्म वृद्धि गरेको छ । गापामा कक्षा ५ सम्म सन्चालित आधारभूत तहको विद्यालयमा मासिक ४ हजार ५ सय तलबमा कार्यरत कार्यालय सहयोगीको तलबमा २३३ प्रतिशत वृद्धि गर्दै रु १५ हजार पुगेको छ भने कक्षा ८ सन्चालित आधारभूत र माध्यमिक विद्यालयमा सन्चालित कार्यालय सहयोगीको तलब दोब्बर वृद्धि भएर १५ हजार पुगेको छ । यस्तै उपाध्यक्ष थिङ्ले आगामी आर्थिक बर्षमा सिता गुफामा मुर्ती स्थापना र अन्य व्यवस्थापनका लागि रु १५ लाख , बाघमोर्चा मन्दिर वरपर पार्क निर्माण तथा मुर्ती खरीदका लागि रु १५ लाख ,शव बाहन खरीदका लागि रु १५ लाख , ठोरी  गापा ३ मा आईटी कलेज स्थापनाका लागि २ करोड ४९ लाख , इच्छानगर जाने बाटोमा ठुटेखोलामा , सालघारी र ढेडुखोलामा झोलुङ्गे पुल स्थापनाका लागि रु ३६ लाख , पालिकाभित्रका विभिन्न ठाउँमा फ्री वाईफाईका लागि रु १० लाख बजेट प्रस्तुत गरेकी  थिइन । सभामा प्रस्तुत विनियोजन बिधेयक सर्वसम्मतिले पारीत भएको अध्यक्ष श्रेष्ठले बताए । सभालाई सम्बोधन गर्दै गापा अध्यक्ष श्रेष्ठले सबै क्षेत्रलाई समेटेर विकास गर्न कोसिस गरेको भएपनि बजेट अभावले कहिकतै समस्या भएकोमा स्वीकार गरे । उनले जिल्लामा अन्य पालिकाको तुलनामा आफुले धेरै नै विकास गरेको दाबी गरे ।

Related posts

बिन्दवासिनीमा जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

hamronepaldainik

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, छानबिन समिति गठन

hamronepaldainik

सर्लाहीमा दैनिक दुई सय नागरिकता जारी, कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई समस्या

hamronepaldainik
HamroNepalDainik