HamroNepalDainik.com
प्रदेशसमाचार

लुम्बिनीका ७० हजार बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

बुटवल : लुम्बिनी प्रदेशका ७० हजार ५ सय १८ जना बालबालिकाहरूलाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त भएपछि सिंगो प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गरिएको छ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो। आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका बालबालिकाहरूले पाउनुपर्ने सबै खोप पाएका छन्। शून्य डोज भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकाको पहिचान गरेर खोप लगाइएको थियो। जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै खोप लगाउनबाट छुटेका बाँकेमा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रुपन्देहीमा ४ सय ४४ थिए।

पूर्वी रुकुममा खोप लगाउनबाट कुनै पनि बालबालिका छुटेका थिएनन्। पूर्ण खोप अभियान अन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो। लगत्तै रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र अन्तिममा २०८२ असार २७ गते अर्घाखाँचीलाई घोषणा गरिएको थियो। प्रदेशका १२ वटै जिल्लामा पूर्ण खोप पुगेपछि राष्ट्रिय खोप समन्वय समितिले प्रमाणित गरी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भविष्यमा कुनै पनि बालबालिका खोप लगाउने सुविधाबाट बञ्चित नहुनेमा विश्वास व्यक्त गरे। घोषणा सभालाई सम्बोधन गर्दै आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्ने गरी अभियान केन्द्रित गरिनुपर्ने बताए।

प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले २०७९ भाद्र ३१ गते नेपालकै दोस्रो पूर्ण खोप प्रदेश पहिलो पटक घोषणा भएको र त्यसपश्चात निरन्तर प्रत्येक वर्ष सुनिश्चितता तथा दिगोपना गर्दै आएको बताए। मातृ मृत्युदर, शिशु मृत्युदर र पोषणलाई स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै उनले स्वास्थ्यका नकारात्मक सूचकहरुलाई न्यूनीकरण गर्ने विषयमा प्रदेश सरकारले प्रगति हासिल गरेको दाबी गरे।अन्नपूर्ण पोस्ट

Related posts

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

hamronepaldainik

पोखरियाको रानीगंज आयुर्वेद संस्थामा लापरवाही

hamronepaldainik

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

hamronepaldainik
HamroNepalDainik