HamroNepalDainik.com
प्रदेशसमाचार

मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि एकमहिने अभियान सुरु

महेन्द्रनगर (धनुषा), २ फागुनः (रासस) ‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ आज जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको छ ।
नसर्ने रोगको रोकथाम तथा सचेतनाका लागि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले एकमहिने विशेष अभियान शुभारम्भ गर्नुभएको हो ।
मन्त्री सिंहले अभियान मधेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको बताउनुभयो । “रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन सचेतना आवश्यक छ । यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनाका साथै रोग पहिचान तथा रोकथाममा मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवणकुमार नायकले नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आमनागरिकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनतालाई प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अभियानले नागरिकलाई नसर्ने रोगहरूबारे सचेत बनाउँदै उपचार प्रक्रियामा सहभागी गराउने छ”, नायकले भन्नुभयो ।
अभियानका क्रममा प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनाका साथै १३६ वटै पालिकामा सञ्चालन गरी समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गरिने प्रयोगशालाले जनाएको छ ।

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

hamronepaldainik

दाईजो प्रथालाई चुनौती दिँदै चौरसियाले गरे आदर्श विवाह

hamronepaldainik

संसदमा दर्ता भयो राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयक

hamronepaldainik
HamroNepalDainik