HamroNepalDainik.com
समाचार

मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

पर्वत, २ फागुनः  (रासस)  लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका यहाँका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।
पर्वत सक्रिय लायन्सक्लबको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ लगायतको प्राविधिक सहयोगसमेत रहेको थियो ।
यसअघि जिल्लाका आठ स्थानमा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट पाँच हजारभन्दा बढीको आँखा परीक्षण गरिएको थियो । उनीहरूमध्येबाट १५४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सबैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लबका पूर्वडिस्ट्रिक्ट चिफ एडमिनिस्टर वसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
दुई वर्षदेखि बिसाँै वर्षसम्म आँखासम्बन्धी समस्या बल्झाएर बसेका ८६ वर्षको उमेरसम्मका वृद्धको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका वृद्धवृद्धाले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
मोतियाबिन्दुका बिरामीको शल्यक्रियाका लागि कतिपय वडाले निःशुल्क सवारी साधनको व्यवस्था गरेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा यसअघि स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।

Related posts

ने.क.पा एमाले पर्सा जिल्लाको अधिबेशनमा अध्यक्ष पद काे लागि क. मनाेज गुप्ताले गरे उम्मेदवारीको घाेषणा

hamronepaldainik

बिन्दवासिनि गाउँपालिकामा तिवारीको लोकप्रियता बढदै

hamronepaldainik

वीरगन्ज २० को सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने पहिलो निर्णय गरियो

hamronepaldainik
HamroNepalDainik