HamroNepalDainik.com
समाचार

मन्त्री यादवद्वारा छानबिन समिति गठन

२९ भदौ, काठमाडौं । (रासस) खानेपानीमन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिनदेखि देखिएको पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले समस्याको जड पत्ता लगाउन छानबिन समिति गठन गर्नुभएको हो ।

मन्त्री यादवले मन्त्रिस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेस गर्न सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।

उहाँले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रूपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताउनुभयो । बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ ।

उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो ।

उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनामा क्षति पुर्‍याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री यादवले पाइपलाइन विस्तारका क्रममा गरिएका त्रुटिलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभयो ।

Related posts

छिपहरमाईमा एक शिक्षिका सहित १२ जना नयाँ शिक्षकको पदस्थापन

hamronepaldainik

सम्बन्धित निकाय मौन हुदा पर्सा मालपोत कार्यालय बिरगंजमा लफडा सेवा ग्राहीलाई सास्ती

hamronepaldainik

भारतको ओडिशामा रेल दुर्घटनाः २०० भन्दा बढीको मृत्यु, ९०० घाइते

hamronepaldainik
HamroNepalDainik