HamroNepalDainik.com
समाचार

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौँ, ५ चैत (रासस) ः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो जानकारी दिनुभएको हो । उहाँले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताउनुभयो ।

पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ । गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्ने र भोलि चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देश गर्ने निर्णय भएको प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।

यसैगरी पार्टी सरकारमा सहभागी हुने निर्णय भएसँगै आज बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेस सत्तापक्षको लाइनमा रहने उहाँले जानकारी दिनुभयो । बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय यादवलाई बधाईसहित कार्यकाल सफलताको कामना दिने निर्णय गरेको छ ।

यसैगरी काठमाडौँमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप प्रतियोगिताका विजयी नेपाली खेलाडीलाई बधाई दिँदै आगामी खेलमा विजयका लागि शुभकामना दिने निर्णय पनि गरेको कांग्रेस प्रवक्ता डा महतले जानकारी दिनुभयो ।

Related posts

सिरहाको गोलबजारमा महिलाको हत्या, श्रीमान् घाइते

hamronepaldainik

तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी १० दिनदेखि धर्नामा

hamronepaldainik

बिन्दवासिनीकाे गाउँपालिका वडा नं.५ को अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार पटेल घरदैलो अभियानमा ब्यस्त

hamronepaldainik
HamroNepalDainik