HamroNepalDainik.com
समाचार

रविलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न बालकोटको दबाव, प्रधानमन्त्री छैनन् तयार

१६ माघ, काठमाडौं  / नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् ।
‘उहाँमाथि गम्भीर चार्ज लागिसकेपछि यसलाई प्रष्ट गर्ने दायित्व उहाँको पनि हो, किनभने नेपाली नागरिकताकै सवालसँग जोडिएको गृहमन्त्रालय उहाँले सम्हाल्नु नै समस्या थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘अझ राहदानीका विषय पनि आएका छन् । तर एमालेबाट अलिकति प्रेसर नै छ ।’ प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय हाललाई आफैसँग राख्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बतायोे । एमालेबाट रवि लामिछानेका बारेमा प्रस्ताव आउनुलाई प्रधानमन्त्रीले अन्यथा नलिए पनि यो विषय पूर्ण रुपमा टुंगिएपछि भने विचार गर्न सकिने उक्त स्रोतले बतायो ।
आजै एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेमाथिको मुद्दा सामान्य र नियमित प्रकृतिको भएको भन्दै नेपालको राजनीतिक समीकरणमा फेरबदल ल्याउनका लागि यसलाई प्रयोग गर्न खोजिएको आरोप लगाए । अदालतको फैसलामाथि प्रश्न उठाउँदै पोखरेलले पीआर र ग्रीनकार्ड त्यागेर नेपाल आउने नागरिकलाई फेरि नागरिकता लिने अर्को व्यवस्था नभएको दाबी गर्दै उनले रविको बचाउ गरे । रविले भने ग्रीनकार्डमात्र नभई अमेरिकी नागरिकता नै लिएको यसअघि नै सकारिसकेका छन् ।
‘यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन’ महासचिव पोखरेलले भने, ‘किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन ।’ दुई दिनअघि सरकार र पार्टी दुवैतिर पद गुमाएका लामिछानेले आजै काठमाडौं प्रशासनबाट नागरिकता पुनःप्राप्ति गरेका छन् । तर उनको राहदानी सम्बन्धी महत्वपूर्ण मुद्दाबारे प्रश्नहरु बाँकी नै छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमाएका थिए । रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ । साभार : अनलाइनखबर

Related posts

राप्रपाबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार साह दोहरो नागरिक रहेको खुलासा

hamronepaldainik

प्राईम कमर्सियल बैंकले गलोबल IME बैंकलाई तीन गोलले पराजित

hamronepaldainik

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु

hamronepaldainik
HamroNepalDainik