HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

श्रीलंकासहित ३२ मुलुकमा भेटियो ओमिक्रोन भेरियन्ट

१७ मंसिर, काठमाडौं। श्रीलंकामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म ३२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ।

शुक्रबार श्रीलंकाका स्वास्थ्य अधिकारीले एक जनामा ओमिक्रोन पुष्टि भएको बताएका छन् । हालै दक्षिण अफ्रिकाबाट फर्किएका एक श्रीलंकालीमा ओमिक्रोन पुष्टि भएको अधिकारीहरूको भनाइ छ। यसअघि बिहीबार भारतको कर्नाटक राज्यका २ जना पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन् । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।

एसियामा जापानसहित भारत, श्रीलंका, मलेसिया, इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ ।

सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित बढ्दै गएका छन्। पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा ११ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हिजोको भन्दा ८ हजार ५ सयले बढी हो ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले नयाँ ओमिक्रोन भेरियन्टका कारण मुलुक कोभिड संक्रमणको चौथो लहरमा प्रवेश गरेको बताएका छन् ।

शुक्रबार मिडिया ब्रिफिङ गर्दै स्वास्थ्यमन्त्री फाहलाले ओमिक्रोनका कारण दक्षिण अफ्रिका कोभिड संक्रमणको चौथो लहरमा प्रवेश गरेको बताएका हुन् । तर हाल अस्पतालसामु जोखिम उत्पन्न नभएको उनको भनाइ थियो ।

जो फाहलाले धेरै मानिसको ज्यान जाने अवस्था आउनुपूर्व नै ओमिक्रोन भेरियन्टको व्यवस्थापन हुने विश्वास समेत व्यक्त गरेका छन् । उनका अनुसार दक्षिण अफ्रिकाका ९ मध्ये ७ वटा प्रान्तमा ‌ओमिक्रोन फैलिइएको छ ।

साथै, फाहलाले मानिसहरूलाई खोप लगाउन समेत आग्रह गरेका छन् । यसैबीच, दक्षिण अफ्रिकाकी एक वरिष्ठ चिकित्सकले हालसम्मको अवस्था हेर्दा ओमिक्रोन भेरियन्ट घातक नदेखिएको बताएकी छन् ।

‘प्रारम्भिक अवस्था हेर्दा ओमिक्रोन घातक देखिँदैन’, साउथ अफ्रिकन मेडिकल एशोसिएशनकी अध्यक्ष डा. एन्जेलिक कोएटजीले अलजजिरासँग कुरा गर्दै भनिन्, ‘यो तीव्र रुपमा फैलिइरहेको तर हामीले देखेका लक्षण सामान्य छन् ।’

कुन संक्रमितमा गम्भीर समस्या देखिने भनेर थाहा नहुने भएकाले चिन्ता गर्नुपर्ने अवस्था रहेको कोएटजीको भनाइ थियो ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट दक्षिण एसियाका २ मुलुकमा समेत फेला परेका छन् ।

 

Related posts

तराईमा चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

hamronepaldainik

वीरगंजकाे विकास बारे पूर्वमन्त्री यादव र मेयर सिंहले गरे प्रधानमन्त्रीसंग भेट

hamronepaldainik

आदर्श डेली अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

hamronepaldainik
HamroNepalDainik