हरिशंकर शर्मा, वीरगन्ज (पर्सा) ।
राष्ट्रिय जनगणना २०७८ का लागि पर्सा जिल्लामा ५ सय ५६ जना गणक खटाइएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित गत कात्तिक २५ गतेदेखि शुरु भएको दोश्रो चरणको मुल जनगणनाको लागि पर्सा जिल्लामा ५ सय ७० जना गणकको दरबन्दी भएपनि ५ सय ५६ जना गणक खटाइएको हो ।
जनगणनाका लागि खटिएका गणकहरुले जिल्लाको सदरमुकामदेखि ग्रामीण भेगका पालिकाहरुमा सर्वसाधारणको घर–घरमा पुगेर तथ्याङ्क संकलन गर्ने कार्यलाई तीब्रता दिएका छन् ।
जनगणनाको पहिलो चरणमा सुपरीवेक्षकले घर सङ्ख्या, परिवार सङ्ख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैंक खाता आदिका बारेमा सामान्य विवरण संकलन गरी घरको सूचीकरण गरिसकेको र सूचीकरण पश्चात् दोश्रो चरणको गणकले जात, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण संकलन शुरू गरिरहेको जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।
जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दरलगायतका तथ्याङ्क संकलन गरिन्छ ।
कात्तिक २५ गते बिहीबारदेखि शुरू भएको जनगणना मङ्सिर ९ गतेसम्म चल्नेछ । जनगणना प्रभावकारी रूपमा गर्नका लागि पर्सा जिल्लामा ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ, भने गणकहरुले गरेको कामको एक सय ४२ सुपरिवेक्षकहरुले सुपरिवेक्षण र जिल्ला जनगणना कार्यालय तथा स्थानीय जनगणना कार्यालयबाट अनुगमन भइरहेको जिल्ला जनगणना अधिकारी ज्ञवालीले जानकारी दिए ।
वीरगञ्ज महानगरमा जिल्ला जनगणना कार्यालय पर्सा र महानगरको लागि परवानीपुरमा अर्को कार्यालय स्थापना गरिएको छ । त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकालाई समेत हेर्ने गरी पर्सागढी नगरपालिकामा कार्यालय स्थापना गरिएको छ ।
ठोरी, जगरनाथपुर, पटेर्वासुगौली र जीराभवानी गाउँपालिकाको लागि जीराभवानीको सेढवामा कार्यालय संचालन गरिएको अधिकारी ज्ञवालीले जानकारी दिए । त्यसैगरि धोबिनी, पकाहामैनपुर, कालिकामाई र छिपहरमाई गाउँपालिकाको लागि कालिकामाई गाउँपालिकाको मुडलीमा कार्यालय स्थापना गरिएको छ ।
यस अघि १ सय ४२ जना सुपरिवेक्षकहरुले पर्सा जिल्लामा ९३ हजार १ सय ४० जनगणना घर सँख्या रहेको सुचिकरण गरेको थियो, भने १ लाख १८ हजार ५ सय १५ घर सँख्या रहेको छ । यसरी नै जनगणना परिवार सँख्या १ लाख १७ हजार ६ सय २१ रहेको जिल्ला जनगणना कार्यालय पर्साले जनाएको छ ।
जाती, धर्मको आधारमा भाषा सुचिकृत गरिँदै
राष्ट्रिय जनगणनाको लागि खटिएका गणकहरु घर–घरमा पुगेपछि धर्म, जातीको आधारमा भाषा छुट्याउने गरेको पाइएको छ । मुलुक धर्म निरपेक्ष राष्ट्र घोषणा भएसँगै सबै जाती समुदायको हक अधिकार सुनिश्चित गरेको छ तर, भाषालाई यहाँ जातीय आधारमा सूचीकृत गराउन दबाब दिने काम भइरहेको पाइएको छ । पर्सा, बाराको अधिकाँश ठाउँको मातृभाषा भोजपुरी रहेकोमा मुस्लिम समुदायका केही व्यक्तिहरुले जातीय सद्भाव खलबलाउने मनसायले जातीय आधारमा भाषा छुट्याउन लगाइरहेको पाइएको छ ।
पर्सा जिल्लामा मुस्लिम समुदायको बसोबास रहेपनि बोलचालको भाषा उर्दु कसैले बोल्ने गरेका छैनन्, पुर्खाहरुको भाषा पनि भोजपुरी नै रहेको छ । तर, धार्मिक संगठनहरुको दबाबमा यथार्थ भन्दा फरक मातृ भाषा र पुर्खाको भाषामा उर्दु लेखाउने गरिएको छ । यहाँसम्म कि वीरगन्ज महानगरपालिकामा खटिएका गणकसँग भाषाको विषयलाई लिएर विवाद समेत उत्पन्न भएको सामाजिक सञ्जालमा भिडियो नै सार्वजनिक भएको छ । कतिपयले समाजिक सञ्जालमा जनगणनामा झेल नहोस् यथार्थमा विवरण संकलन गरियोस् भन्ने सतर्क समेत गराएका छन् । साभार : news24