HamroNepalDainik.com
प्रदेशराजनीतिसमाचार

माधव नेपालको प्रस्ताव- सबै चुनाव एकैपटक गरौं

१२ कात्तिक, पोखरा ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् ।

पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे । ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’

यद्यपि, नेता नेपालले सबै तहको चुनाव एकैपटक गर्ने विचार नितान्त व्यक्तिगतमात्रै भएको प्रष्ट्याए । कानुनी व्यवस्था र जटिलताबारे गठबन्धनसहित सरोकार निकायसँग आफूले अरुसँग छलफल गर्न नपाएकोसमेत उनले सुनाए ।

‘यसको कानुनी जटिलता केही छन् कि, होइन भने त्यही बाटोमा किन नजाने भन्ने कुरा हो । मलाई लाग्छ है, व्यक्तिगत रुपमा !’ नेपालले भने, ‘५ दलीय गठबन्धनमा यो कुरा राखेको पनि छैन । पार्टीको कानुन विभाग र निर्वाचन आयोगसँग पनि कुरा गर्न पाको छैन ।’

स्थानीय तहको चुनाव आगामी चैतमा गर्ने प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका छन् । स्थानीय तहको चुनावलाई पछि सार्ने कि अरु चुनाव अघि गर्ने ? जवाफमा नेपालले भने, ‘यसबारे धेरै सोच्न पाएको छैन । मलाई लागेकोमात्रै हो ।’

‘प्रधानन्यायाधीशको विषय बुझ्न पाएको छैन’

विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको अध्यक्ष नेपालले जिकिर गरेका छन् । उनले काम विशेषले बाहिर–बाहिर भएकाले त्यस विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका हुन् ।

उनले प्रधानन्यायाधीशलाई विवादमा ल्याउने काम एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सुरु भएको समेत आरोप लगाए । उनले भने, ‘उहाँले (ओली) अनेक किसिममा जालझेल, तिगडम गर्नुहुन्छ । सबैले (प्रधानन्याधीससहित ५ जना) राजीनामा दिनुपर्छ भनेर न्यायिक क्षेत्रको हुर्मत लिन खोज्दै हुनुहुन्छ ।’

ओलीले कसैको मानसम्मान नगर्ने सिस्टम भत्काउँदै हिँडेकाले न्यायिक क्षेत्र समस्यामा परेको नेपालको जिकीर छ । ‘हामी सिस्टम बसाल्दै जान्छौं, उहाँ सिस्टम भत्काउन चाहनुहुन्छ । यसकारण न्यायपालिका क्षेत्रमा केही समस्या भएका छन् भन्ने सुनेको छु,’ उनले भने, ‘बाहिरबाहिरै भएकाले अरु हिसाबले बुझ्न पाएको छैन ।’

नेपालले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुरा नभएको समेत प्रष्ट्याए । ‘यो (महाअभियोगको कुरा) हामीबीच आएको पनि छैन । छलफल पनि भएको पनि छैन । यो हल्ला हो, हल्लाको पछि कुद्न जरुरी छैन,’ उनले भने । उनले अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्याउने दोहोर्याए ।

Related posts

बिन्दबासिनीको कार्यपालिका चुनावमा कांग्रेसको जीत

hamronepaldainik

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

hamronepaldainik

पोखरियाको विकासका लागी पुर्व मेयर देखी प्रदेश सांसद सम्मको प्रतिनिधिमण्डल जनकपुरमा

hamronepaldainik
HamroNepalDainik