वीरगंज । पर्सा जिल्लाको स्थानीय तहमा सरकारी गाडीको चरम दुरूपयोग भइरहेको छ । गाउँ गाउँमा सिंहदरबार भन्ने नाराका साथ संघियता अनुरूप व्यवस्था गरिएको स्थानीय तहका जनप्रतिनिधि देखि कर्मचारीहरुले सरकारी गाडीको चरम दुरूपयोग गरिरहेको पाइएको छ । यस्तै पकहामैनपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष लेखमन पटेल गाउँपालिकाले दिएको मोटरसाइकल आफ्नो निजी प्रयोगका लागि प्रयोग गर्दै गरेको हेरिएको छ । वडा अध्यक्ष पटेलले आफ्नो घर बनाउनका लागि सरकारी गाडीमा ३ बोरा सिमेन्ट लोड गरी जाँदै गरेको फोटो सार्वजनिक भएको छ ।
स्थानीय जनताको समस्या समाधानका लागि उनीहरुको घर दैलोमा पुग्न र विकास निर्माणको काममा सहज भएर लाग्न जिल्ला भरका पालिकाहरुले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि ठूलो धनराशी खर्च गरेर लाखौंको सवारीसाधन किनेका छन् । सुरुका दिनमा स्थानीय तहले प्राथमिकताका साथ गाडी तथा मोटरसाइकल खरिद गर्न थालेपछि जिल्लामा त्यसको व्यापक आलोचना समेत भएको थियो । लाखौंको सुविधा सम्पन्न गाडी तथा त्यसमा प्रयोग हुने इन्धन, मोबिल तथा मर्मत खर्च स्थानीय तहले व्यहोर्दै आएका छन् । विकास निर्माणको लागि भनि आएको बजेट सवारी साधनको रखरखावमा खर्च भएको भन्दै त्यसको व्यापक विरोध समेत भएको थियो ।
स्थानीय तहले एकातिर सवारीसाधनको रखरखावमा वार्षिक लाखौं खर्च गर्दै आएका छन् भने अर्कोतर्फ ती सरकारी गाडीहरूको निजी प्रयोग पनि बढ्दो छ । जसका कारण व्यक्तिगत प्रयोजनका लागि सरकारी सम्पत्तिको प्रयोग गरी दुरूपयोग बढेको छ । जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी सुविधाको रुपमा पाएको मोटरसाइकल घरको कामदेखि खेतबारीको काममा प्रयोग गर्ने गरेका छन् । वडाध्यक्षले पाएको मोटरसाइकल उनीहरुका छोरा ,भाइ ,भतिजा र सालोले गुडाइरहेको देख्न पाइन्छ ।मोटरसाइकलमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट लिँदै आएका वडाध्यक्षहरु जनताको काम नगरी त्यसको प्रयोग भने आफ्नो घरको र ब्यक्तिगत काममा प्रयोग गर्दै आएको स्थानीयहरुले बताएका छन् ।
यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउन सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको पकहामैनपुर युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलले बताएँ ।