HamroNepalDainik.com
प्रदेशसमाचार

बाँसखर्कको लोकप्रिय सुन्तला व्यावसायिक उत्पादनका लागि उन्मोचित

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गण्डकी प्रदेशमा बाँसखर्कको सुन्तला भनेर ब्राण्ड बनिसकेको सुन्तलाको जातमा केही बर्षको अनुसन्धान गरी सिफारिस गरेपछि व्यावसायिक उत्पादनको लागि उन्मोचन भएको छ ।
अब पर्वत जिल्लाको बाँसखर्क जस्तै हावापानी भएका अन्य ठाउँमा पनि उक्त जातको सुन्तला उत्पादन गर्न सकिनेछ ।
राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, पारिपात्ले, धनकुटाका संयोजक डा. उमेशकुमार आचार्यका अनुसार पर्वतको बाँसखर्कबाट ल्याइएको यो जातलाई उक्त कार्यालयले अन्य २० जातका सुन्तलासँग तुलनात्मक अध्ययन गरी उत्कृष्ट ठहरिएपछि सिफारिस गरिएको हो ।
उनले वि.सं. २०६३ सालदेखि अनुसन्धान गरी गण्डकी प्रदेशका १००० देखि १६०० मीटरसम्मको उचाइका पाखो जग्गाको लागि सिफारिस गरिएको यो जात उन्मोचित भएपछि यो जातले व्यापकता पाउने आशा गरिएको बताए । डा. आचार्यले यो जातलाई धनकुटा, स्यांग्जा र पर्वतमा अनुसनधान गरिएकोमा यसअघि सिफारिस भएको खोकु स्थानीयभन्दा बढी उत्पादन दिने र करिब १५ दिन छिटो पाक्ने मध्यमौसमी जात भएको पनि जानकारी दिए ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासु रेग्मीले गण्डकी प्रदेश सुन्तला उत्पादनको केन्द्र भएको र त्यसमा पनि बाँस खर्कको सुन्तलामा रहेको गुणस्तर अरु प्रचलित जातमा पाउन मुश्किल भएकोले यो जात उन्मोचन हुनु गण्डकी प्रदेशका लागि गौरवको कुरा भएको बताए । उनले यो जात बजारमा ढिलो गरि आउने हुनाले उचित मूल्य पाउने गरेको र गण्डकी प्रदेशका रुखा र बाँजा जग्गा उपयोगका लागि महत्वपूर्ण हुने बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो जात स्वादिलो, ठूला दानाका कारण पोखरा आसपासका बजारहरुमा महँगोमा बिक्रि हुने गरेको बताए । उनका अनुसार यो जातको लोकप्रियताको कारण कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले तिसौ बर्षदेखि र केही नर्सरीहरुले समेत यसै जातको कलमी बिरुवा उत्पादन गरि विक्रीवितरण गरिरहेकोमा अब औपचारिक उन्मोचन भएपछि बेर्ना उत्पादनमा पनि सजिलो हुने बताए ।

यो जातको सुन्तलाको दानाको तौल करिब १०० ग्राम र कूल घुलनशील पदार्थ (गुलियोपना) १२ प्रतिशतसम्म पाइन्छ जुन अन्य जातको तुलनामा बढी हो । यो जातमा क्यांकर र डाँठमा प्वाल पार्ने कीराको प्रकोप कम हुने बताइएको छ ।

Related posts

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik

बहुदरमाइ नगरपालिकाका मेयर ले बाटो मिची आफ्नो साह दरबार होटल बनाएको आरोप

hamronepaldainik

वीरगञ्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख

hamronepaldainik
HamroNepalDainik