HamroNepalDainik.com
राजनीतिसमाचार

शिक्षा, स्वास्थ र न्याय नि:शुल्क गर्छु : अशोक टेमानी

वीरगंज –  क्षेत्रका दीर्घकालीन शहरी समस्यालाई चुनावी एजेण्डाको केन्द्रमा राख्दै शिक्षा, स्वास्थ र न्याय नि: शुल्क गर्न पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले प्रतिबद्धता व्यक्त गरेका छन्।

चुनावी प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा टेमानीले वडा नं. १ छपकैयामा घरदैलो कार्यक्रम सञ्चालन गरी मतदाता भेटघाट तथा प्रत्यक्ष संवाद गरेका हुन्। कार्यक्रममा उनले स्थानीय बासिन्दासँग सडक, ढल निकास, फोहोर व्यवस्थापन, ट्राफिक जाम, खानेपानी आपूर्ति तथा शहरी सुरक्षासम्बन्धी गुनासाहरू प्रत्यक्ष सुने।

स्थानीयवासीले वर्षायाममा सडक जलमग्न हुने, नाला अवरुद्ध हुँदा दुर्गन्ध फैलिने तथा अव्यवस्थित पार्किङका कारण दैनिक जामको समस्या झेल्नुपरेको बताएका थिए। त्यस्तै, कतिपय गल्लीमा सडक बत्ती अभाव र पुराना खानेपानी पाइपलाइनका कारण पानीको गुणस्तरमा समस्या रहेको गुनासोसमेत उठाइएको थियो।

उम्मेदवार टेमानीले यस्ता समस्या अस्थायी योजनाले समाधान नहुने उल्लेख गर्दै दीर्घकालीन पूर्वाधार विकास योजनाको आवश्यकता औंल्याए। संघीय संसद्मा निर्वाचित भएपछि वीरगंजका मुख्य शहरी समस्यालाई प्राथमिकतामा राखी सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर स्थायी समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए।

शहरी व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी अनुगमन आवश्यक रहेको बताउँदै उनले संघीय तहबाट बजेट विनियोजन र योजनाको कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने दाबी गरे। ‘वडा नं. १ का समस्या केवल स्थानीय होइनन्, यो समग्र पर्सा–२ को शहरी चुनौती हो,’ उनले भने, ‘दीर्घकालीन दृष्टिकोणसहित योजना बनाएर मात्र स्थायी समाधान सम्भव छ।’

घरदैलो कार्यक्रममा सहभागी मतदाताले विकासको आश्वासनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै टेमानीले निर्वाचनपछि नियमित जनसम्पर्क, सार्वजनिक सुनुवाइ तथा प्रगति प्रतिवेदनमार्फत नागरिकलाई जानकारी गराउने प्रणाली विकास गर्ने आश्वासन दिए।

निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। घनाबस्ती क्षेत्र वडा नं. १ मा केन्द्रित अभियान र स्पष्ट शिक्षा,स्वास्थ र न्याय नि: शुल्क एजेण्डासहितको प्रतिबद्धताले टेमानीको उम्मेदवारीलाई थप मजबुत आधार दिएको विश्लेषण गरिएको छ। स्थानीय मुद्दालाई राष्ट्रिय मञ्चमा उठाउने अठोटसहित अघि बढेको उनको अभियानले पर्सा–२ को चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने संकेत देखिएको छ।

Related posts

प्रेस कार्ड कीर्ते गर्नेलाई प्रेस काउन्सिल द्वारा कारबाहीको सिफारिस

hamronepaldainik

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik
HamroNepalDainik