वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवादले एक जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान स्थानीय ६५ वर्षीय केपी चन्द राउत बरई र वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी निवासी ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिट हुँदा राउत गम्भीर घाइते भएका थिए । घाइते राउतलाई उपचारका लागि तराई अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा बिहान ०७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार राउतले आफ्नो घर अगाडि मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार विवाद चर्किँदै जाँदा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।
धकेलाधकेलको क्रममा गम्भीर घाइते भएका राउतलाई तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारीअनुसार वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान तथा मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

