२६ असोज, पर्साको वीरगन्ज महानगरमा सुरुमा गत भदौं ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । हैजाको महामारी फैलिएको वीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै पालिकामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई खोप खुवाएर खोप अभियान सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्साकै परिसरमा स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको हैजा विरुद्धको प्रतिकार्य खोप अभियानको सुभारम्भ कार्यक्रममा स्वास्थ्यकर्मीको हातबाट प्रजिअ सुबेदीले खोप खाएर अभियानको सुरुवात गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
खोप अभियानको सुभारम्भ कार्यक्रममै प्रजिअ सुबेदीसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा.. मनोज कुमार गुप्ता, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी परीक्षक पुरनचन्द्र भट्ट लगायतलेपनि खोप सेवन गरेका थिए ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, अस्पतालमा अहिले हैजाको संक्रमण पुष्टि भएका बिरामी एक जनापनि उपचाररत नरहेपनि अहिलेपनि दैनिक चार पाँच जना झाडापखालाका बिरामीहरु उपचारका लागि आइरहेका छन् ।
डेढ महिनापहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइनसकेको र फेरि हैजाको संक्रमण फैलिन नदिने उदेश्यले पर्सामा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
आइतबारदेखि सुरु भएको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ । यस अभियानमा जिल्लाभरका १ वर्षमाथि उमेरका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप खुवाउने लक्ष्य रहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।
आइतबारदेखि सुरु खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल,सबै सामसदायिक तथा निजी विद्यालय, कलेज,सबै सरकारी कार्याएलय, गैरसरकारी संघसंस्थाका कार्यालय,नियमित खोप सेवा सञ्चालन हुदैं आएका बाह्य खाृेप केन्द्रहरु,मन्दिर,मस्जिद, चर्च, गुम्बा,बसपार्क, नेपाल भारत सीमा नाका,उद्योग कलकारखाना सबैमा खोप केन्द्र स्थापना गरेर खोप खुवाउन थालिएको ठाकुरले बताए ।
यस्तै पर्साको छिमेकी जिल्ला बारामा भने सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिने अभियानमा सहभागी विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले जानकारी दिए ।
पर्साको वीरगन्ज महानगरसंग सीमा जाडिएका बाराको कलैया र जीतपुरसिमरा उपमहानगरपालिका,परवानीपुर, प्रसौनी,फेटा र विश्रामपुर गाँउपापलका गरी ६ वटा पालिकामापनि सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने उनले बताए ।
हैजा प्रभावित स्थान र आसपासका मानिसलाई हैजा रोग लाग्नबाट जोगाउनका लागि तथा हैजा फैलिएको स्थानबाट अन्यस्थानमा हैजा फैलनबाट रोक्नका लागि यो खोप अभियान सञ्चालन गरिएको अभियानमा सहभागी विश्व स्वास्थ्य संगठनका उपाध्यायले जानकारी दिए ।