HamroNepalDainik.com
समाचार

बिरगंजमा सुनचाँदी व्यवसायीहरू द्वारा विरोध प्रदर्शन

वीरगंज । चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन्। भ्याटको नयाँ संरचनाले उपभोक्ता र व्यवसाय दुवैलाई आर्थिक रूपमा नोक्सान पुर्‍याउने भन्दै उनीहरूले शनिबार वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन्।

पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघको संयुक्त आयोजनामा भएको प्रदर्शनमा व्यवसायीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले भ्याटको नयाँ नीति तत्काल फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र पनि बुझाएका छन्। ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीलाई बुझाइएको हो।

व्यवसायीहरूले ज्ञापनपत्रमा उल्लेख गरेअनुसार सरकारले १० लाख रुपैयाँभन्दा माथिका गहनामा लाग्ने ५ प्रतिशत विलासिता कर हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट लागु गर्नुपर्ने माग गरेका छन्। साथै, हिरा र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाइनु उपभोक्तामाथि अन्यायपूर्ण भएको भन्दै विरोध जनाइएको छ।

“सुनचाँदी नेपाली समाजको संस्कृति र परम्परासँग गहिरो रूपमा गाँसिएको वस्तु हो। यो केवल विलासिता होइन, नेपाली जनताको बचत र सामाजिक लगानीको प्रतीक हो,” संघका अध्यक्ष भुलन प्रसाद सोनारले बताए।

उनका अनुसार हाल सुनको मूल्य ऐतिहासिक रूपमा उच्च छ, र त्यही समयमा बजार मन्दीको अवस्थामा थप करले ग्राहकहरूलाई झन् टाढा बनाउनेछ। यसले केवल व्यापार घटाउने होइन, वैध व्यवसायलाई समेत संकटमा पार्ने खतरा रहेको सोनारले बताए।

व्यवसायीहरूले भारतजस्तो छिमेकी मुलुकमा सुनको भ्याटदर तुलनात्मक रूपमा कम रहेको उल्लेख गर्दै नेपालमा कर दर अत्यधिक हुनुले तस्करी र अवैध कारोबार बढ्ने चेतावनीसमेत दिएका छन्।

व्यवसायीहरूको मागअनुसार, सरकारले तत्काल व्यवसायीहरूसँग संवाद गरी कर संरचनामा पुनरावलोकन गर्नुपर्नेछ।

Related posts

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

hamronepaldainik

सखुवा प्रसौनी गाउँपालीका द्वारा वडा न: ५ र ६ मा गर्भवती महिलालाई पोषिलो आहार बितरण

hamronepaldainik

जाजरकोट बस दुर्घटनाका १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

hamronepaldainik
HamroNepalDainik