३० चैत, वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप हुँदा कर्फ्यु आदेश जारी भएको छ ।
अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ छपकैया श्रीराम हलस्थित मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।
प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको हो । अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो ।
घटनास्थलमा खटिएका ८ जना प्रहरी सहित शोभायात्रामा सहभागी दर्जनौं घाइते भएका छन् नारायणी श्रेत्रीय अस्पतालमा उपचार जारी छ ।
अवस्था असामान्य बन्दै गएपछि करिब ६ बजेर १० मिनेटमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो । लगत्तै साढे ६ बजेदेखि भोलि (आइतबार) १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २०८१ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो ।
प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्नेगरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

