HamroNepalDainik.com
समाचारस्थानिय

सार्वजनिक जग्गा उत्खनन गर्ने स्काभेटरसहित ४ टिपर महानगरको नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने वीरगञ्ज २८ का स्थानीय युवा जितेन्द्र कुमार पटेल बताउँछन् । उनी भन्छन्, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बेचीरहेका छन् । उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेका छन् ।

उनीहरु जो भएपनि कारवाही गर्नुपर्छ ।’ कारवाही मात्रै गरेर नपुग्ने बताउँदै उनले अहिलेसम्म खनेको झण्डै २ विघा क्षेत्रफल जमिनको क्षतिपुर्ती पनि व्यहोर्नुपर्ने धारणा राखे । दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा आफूहरुलाई जोखिम हुनेमा स्थानीय शेष पटेल चिन्तित छन् । उनी भन्छन्, ‘अहिले जथाभावि रुपमा जग्गा उत्खनन् गर्दा पछि हाम्रै घरखेतमा पनि नदि बग्न सक्छ, छेउमै भएको नदिको पानीले घरखेत डुबाउनुका साथै वर्षायाममा बाढीको डर हुने भयो । अब जसरी हुन्छ यसलाई रोक्नुप¥यो ।’

सार्वजनिक सम्पती कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय पटेलको भनाई छ । गुठीको जग्गालाई हडप्न खोजेकोप्रति आपत्ती जनाउँदै स्थानीय नवराज गिरी पनि सार्वजनिक जग्गामा उत्खनन् गर्न नमिल्ने बताउँछन् । यसअघि पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय विक्रम पटेलको आशंका छ । परवानीपुर प्रहरीले बेवास्ता गरेपछि महानगर प्रमुखलाई खबर गरेको बताउँदै पटेलले महानगरले खबर पाउने बित्तिकै टिपर र स्काभेटर नियन्त्रणमा लिएको भन्दै सह्राना गरे । साथै उनीहरुलाई कारवाही गरी क्षतिपुर्ती माग गर्नुपर्ने पटेलको भनाई छ ।

महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग भइरहेको उनले बताए । उनले भने, ‘यहाँ कसैले माटो उत्खनन् गरेर प्रति टिपर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेचीरहेका छन् भने कसैले त्यही जग्गामा पोखरी खनेर माछापालन गरीरहेका छन् ।’ पटेलकाअनुसार १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ । यसमा गुठीका हाकिमहरुको पनि मिलेमतो भएको पटेलको आरोप छ । नियन्त्रीत टिपरको चालककाअनुसार उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका छन् । यद्यपी अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकतोक तथा दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुषालले बताए ।

महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारवाही गर्ने चेतावनी दिए । साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

Related posts

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

hamronepaldainik

वीरगंज नाका स्थित नेपालि भूमिमा भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुको भनाई

hamronepaldainik

प्रदेश सभा सदस्यमा युवा नेता साबिरको एकल उम्मेदवार सिफारिस

hamronepaldainik
HamroNepalDainik