HamroNepalDainik.com
समाचार

आयातमा कडाइपछि वीरगञ्जका भन्सारले भेट्टाएनन् लक्ष्य

१२ साउन, वीरगञ्ज । वीरगञ्जमा रहेका दुईवटा भन्सार कार्यालय गत साउन महिनामा लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएका छन् ।

साउनमा वीरगञ्ज भन्सारको १५ अर्ब २० करोड ७ लाख ५५ हजार र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको ४ अर्ब १४ करोड ३८ लाख ७२ हजार रुपैयाँ थियो ।

तर वीरगञ्ज भन्सारले १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैयाँ र सुख्खा बन्दरगाह भन्सार कार्यालयले ३ अर्ब ६१ करोड ८५ लाख २ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालु आर्थिक वर्षको साउनमा गत वर्षको साउनको तुलनामा आयात र निर्यात दुवै घटेको छ । आयात ५ प्रतिशत र निर्यात ५४ प्रतिशतले घटेको भन्सार कार्यालयको तथ्यांक छ ।

‘गत वर्षको साउनमा ५९ अर्ब ७९ लाख ७५ लाख ३ हजारको वैदेशिक व्यापार भएको थियो । चालु आर्थिक वर्षमा ५२ अर्ब ३४ करोड १४ लाख २३ हजार भएको छ’, उनले भने । राजस्व घट्नुको मुख्य कारण आयातमा गरिएको कडाइ नै भएको उनको भनाइ छ ।

वीरगञ्ज नाकाबाट सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रूपमा भित्रिने गरेको छ । गाडी आयातमा लगाइएको प्रतिबन्ध र बैंकहरूले कर्जा रोक्दा पुरानो एलसीमा भित्रिएका गाडीसमेत भन्सारमा थन्किएका छन् ।

१५ सय भन्दा बढी सवारी साधन यार्डमा रोकिएको भन्सार कार्यालयले जनाएको छ । गत वर्षका तुलनामा चालु आर्थिक वर्षको साउनमा जीप, कार भ्यानको आयातमा ८५ प्रतिशत, डबल तथा सिंगल (क्याब, पीकअप गाडी) आयातमा क्रमश ३१ तथा ३८ प्रतिशत, मोटरसाइकल आयातमा ६७ प्रतिशत गिरावट आएको छ ।

डिजेल, पेट्रोल, भटमासको कच्चा तेल, कच्चा पाम तेल, कोइला, एमएस विलेट, तयारी कपडा, एचआर सिट, पोलिथिन दाना आयात पनि घटेको छ ।

निर्याततर्फ प्रशोधित तेल मुख्य रहेकोमा भारतले लिएको आयात नीतिका कारण यसको निकासी पनि प्रभावित छ । तेल निर्यात खस्किएसँगै यसको कच्चा पदार्थ भित्रिने क्रम पनि घटेको छ । यो नाकाबाट भटमास, पाम र सूर्यमुखीको अर्धप्रशोधित तेल आयात हुने गरेको थियो ।

वीरगञ्ज भन्सारलाई चालू वर्षका लागि २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकिएको छ । गतवर्ष २ खर्ब ३ अर्ब रुपैयाँ लक्ष्य पाएको भन्सारले लक्ष्यभन्दा १ अर्ब बढी राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षका लागि पाएको लक्ष्य गतवर्षको तुलनामा २८ प्रतिशत बढी हो ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेले पनि आयात घटेकाले लक्ष्य अनुसार राजस्व संकलन नभएको बताए ।‘कर्मसियल आइटम, मदिरा र सवारी साधनको आयात घटेको छ’, उनले भने ‘त्यसको प्रत्यक्ष असर राजश्व संकलनमा देखिएको छ । साभारonlinekhabar

Related posts

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा आईतबार देखि ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम शुरु

hamronepaldainik

अमानविय क्रियाकलापको विरुद्ध वीरगंजमा प्रदर्शन

hamronepaldainik

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

hamronepaldainik
HamroNepalDainik