HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचारस्थानिय

अवधि नपुगी कर्मचारी सरुवा गर्नेमाथि कारबाही हुने : अख्तियार

१६ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै तहका राजनीतिक पदाधिकारीलाई राज्यकोषबाट सेवा सुविधा दिने गरी अनावश्यक सल्लाहकार नियुक्त नगर्न सुझाव दिएको छ । आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमार्फत अख्तियारले राजनीतिक नियुक्ति लिएका र चुवनाव जितेका पदाधकारीलाई मनपरी सल्लाहकार नराख्न भनेको हो ।

अख्तियारले सार्वजनिक निकायमा आवश्यकताका आधारमा मात्र सेवा करार गर्न र कर्मचारीहरूको स्पष्ट कार्य विवरण बनाई सो अनुरूप कार्य भए नभएको नियमित अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । स्वीकृत दरबन्दी बेगरका कर्मचारी नराख्न र करारका कर्मचारीको सेवा सर्तको सम्बन्धमा सु–स्पष्ट मापदण्ड बनाई सेवा करार सम्झौता गर्न सुझावमा भनिएको छ ।

सेवा सञ्चालन गर्ने निकायले अनुमानयोग्य पदस्थापन र सरुवा प्रणाली अनिवार्य विकास गरी कार्यान्वयनमा ल्याउन, निजामती सेवा ऐनले तोकेको अवधि पूरा नहुँदै कर्मचारीको सरुवा नगर्न र जथाभावी सरुवा गर्ने पदाधिकारीलाई विभागीय कारबाहीको सिफारिस गर्न तथा सोबाट राज्यलाई पर्न जाने अतिरिक्त व्ययभार सरुवा गर्ने पदाधिकारीबाट असुलउपर गर्ने व्यवस्था मिलाउन पनि अख्तियारको सुझाव छ ।

कर्मचारीको सरुवा, पदस्थापनमा अनियमितता गर्ने प्रवृत्ति देखिएको हुँदा रिक्त दरबन्दीमा नियमित पदपूर्ति तथा व्यवस्थित सरुवा प्रणालीको लागि सेवाको आवश्यकताबमोजिम न्यायपूर्ण र अनुमानयोग्य पदपूर्ति र सरुवा मापदण्ड/प्रणाली स्वीकृत गरी तुरुन्त कार्यान्वयनमा ल्याउन पनि प्रतिवेदनमा भनिएको छ ।

लामो समयदेखि स्थायी पदपूर्ति हुन नसकेर करारबाट पदपूर्ति भइरहेका तर औचित्य कायम हुन नसकेका दरबन्दीहरू संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी खारेज गर्न पनि आयोगको सुझाव छ ।

स्थायी दरबन्दीबाट अपुग हुने र अस्थायी/करार दरबन्दी स्वीकृत भएको अवस्थामा मात्र करार तथा ज्यालादारीमा कर्मचारीहरू भर्ना गर्न र व्यक्तिलाई करार वा ज्यालादारीमा राख्ने कार्य निरुत्साहित गर्दै सार्वजनिक खरिद ऐन र नियमानुसार सेवा करारलाई प्रोत्साहन गर्न समेत भनिएको छ ।

व्यक्ति वा संस्थालाई करार वा ज्यालादारीबाट काममा लगाउँदा करारनामा वा सम्झौतापत्रमा उल्लेख भएबमोजिमको रकम वा न्यूनतम् ज्याला अनिवार्य प्राप्त हुने व्यवस्था मिलाउन तथा नवप्रवेशी कर्मचारीहरूलाई पदीय जिम्मेवारी र काम कारबाहीको बारेमा अनिवार्य अभिमुखीकरणको व्यवस्था गर्न अख्तियारको सुझाव छ ।  साभार अनलाईन खबर

Related posts

बिन्दवासिनी–४ मा रहेको राणी पोल्ट्री फर्ममा आगलागी, लाखौको क्षति

hamronepaldainik

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

hamronepaldainik

सालोम सेकेन्ड्री स्कूलको बार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik