वीरगंज , २८ साउन । मदरसामा पढाउने बहानामा लखनउ लगिएका १८ जना बालबालिकाहरुलाई उद्दार गरिएको छ । मानव बेचबिखन विरुद्ध लखनउ स्थित एसएसबी बेतियाका इन्स्पेक्टर मनोज कुमार शर्माले अवैध रुपमा संचालित मदरसामा पढाउने बहानामा लखनउ लगिएका १८ जना बालबालिकाहरुलाई उद्दार गर्नुको साथै त्यसमा संलग्न ३ जनालाई पक्राउ गरेको जानकारी दिए ।
पहिलो पटक ६ जना बालबालिकाहरुलाई उद्दार गरि नियन्त्रणमा लिइएका १ जना आरोपिसँग सोधपुछ गर्दा उनले दिएको बयानमा मदरसाको ठेगाना थाना पारा क्षेत्र (लखनउ)को सदरौनास्थित अवैध रुपमा संचालित मदरसामा साँझ ५ बजे छापा मार्दा थप १२ जना बालबालिकालाई उद्दार गरिएको र त्यसमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिइएको थियो । दुवै उद्दार कार्यमा १८ जना बालबालिकाहरुलाई उद्दार गरिएको तथा संलग्न ३ जनालाई पक्राउ गरिएको इन्स्पेक्टर शर्माले बताए ।
उद्दार कार्य डा. शुचिता चतुर्वेदी (सदस्य), उत्तर प्रदेश राज्य बाल अधिकार संरक्षण आयोग (लखनउ) र संगीता शर्मा चाइल्ड लाइन, लखनउ, प्रियंक कानुङ्गो, अध्यक्ष, राष्ट्रिय बाल संरक्षण आयोग, नयाँ दिल्लीको निर्देशनमा छापामारी गरि बालबालिकाहरुलाई उद्दार गरिएको थियो । उद्दार कार्यमा संलग्न अधिकारीहरु त्यहाँ पुग्दा मदरसाको अवस्था देखेर स्तब्ध भएका थिए । बालबालिकालाई मानव जीवनका आधारभूत सुविधाविहीन राखिएको थियो । बिजुली, पंखा, खान-पिउने सुविधा विहीन गरि बालबालिकाहरुलाई राखिएको थियो ।
उर्दू पढाइको नाममा गरिब जनताका छोराछोरीलाई ल्याएर कपडा र झोला बनाउने काममा लगाइदिने प्रमाण फेला परेको छ । उर्दू पढाउने नाममा गरिबका नाबालक बालबालिकाहरुको भविष्यसँग खेलवाड गर्ने गरेको पाइएको उद्दार कार्यमा संलग्न अधिकारीहरुले अनुभव गरेको बताइएको छ । यी बालबालिकालाई पहिले मोतिहारीमा रोकिएको थियो तर बाल कल्याण समिति मोतिहारीको ध्यानाकर्षण नगरी उनीहरुलाई त्यहाँबाट लिएर बसमा लखनउ पठाइएको थियो ।
मानव बेचबिखन नियन्त्रण इकाई (क्षेत्रीय मुख्यालय) एसएसबी बेतियाले ६ जना बालबालिकालाई पढाईको नाममा काम गराउन मदरसामा लगिएको जानकारी पाएलगत्तै मुक्ति फाउन्डेशन दिल्ली, राज्य बाल अधिकार संरक्षण आयोग (लखनऊ), चाइल्ड लाइन लखनऊ, पारा पुलिस स्टेशन लखनऊ, अल्पसंख्यक विभाग लखनऊको संयुक्त टोलीले उद्दार अभियान सुरु गरेको थियो ।
उद्दार कार्यमा राष्ट्रिय बाल संरक्षण आयोग नयाँ दिल्लीका अध्यक्ष प्रियांक कानुन्गो, उत्तर प्रदेश राज्य बाल अधिकार संरक्षण आयोग (लखनऊ) का सदस्य डा. शुचिता चतुर्वेदी, मानव बेचबिखन विरोधी इकाई (क्षेत्रीय मुख्यालय) एसएसबी बेतिया (बिहार) का निरीक्षक मनोज कुमार शर्मा, मिशन मुक्ति फाउन्डेशन (नयाँ दिल्ली) का वीरेन्द्र कुमार सिंह, चाइल्ड लाइन (लखनऊ) का संगीता शर्मा, अल्पसंख्यक विभाग लखनऊका ग्यासुद्दीन खान, बाल आयोग लखनऊका श्याम त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।