HamroNepalDainik.com
समाचार

नार्कद्वारा प्रकाशित कृषि मौषम सल्लाह बुलेटिनबाट कृषक लाभान्वित

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको समन्वयमा हरेक हप्ता प्रकाशन भई सरोकारवालाहरुसमक्ष पुर्याउँने गरेको कृषि मौषम सल्लाह बुलेटिनको लोकप्रियता बढ्दै गएको छ । वि.सं. २०७२ साल आषाढ २५ देखि बाँके जिल्लाका लागि प्रकाशन सुरु भएको यो बुलेटिन हाल मुलुकका ७७ वटै जिल्लालाई लक्षित गरी प्रकाशित हुने गरेको छ ।

यो बुलेटिन तयार पार्न सुरुदेखि नै संलग्न उक्त केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार सुरुमा विश्व बैंकको अनुदानमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तर्गत कृषि व्यवस्थापन सूचना प्रणालीको एक संभागको रुपमा नार्क, जल तथा मौषम विज्ञान विभाग र कृषि तथा पशुपञ्छी विकास मन्त्रालयको सहकार्यमा बुलेटिन तयार गरी सरोकारवालासमक्ष पुर्याउँने काम हुँदै आएकोमा वि.सं. २०७६ मंसीरदेखि परियोजना समाप्त भएपछि नेपाल सरकारको नियमित बजेटबाटै तयार भैरहेको छ ।

रिमालका अनुसार बुलेटिनमा हरेक शुक्रबार जल तथा मौषम विज्ञान विभागबाट उपलब्ध हुने गत हप्ताको मौषमी तथ्यांक र आगामी हप्ताको मौसमी परिदृष्यको आधारमा कृषि, पशुपञ्छी तथा मत्स्यका विज्ञहरुले सम्बन्धित बालीनाली र पशुवस्तुमा मौषमी जोखिम आँकलन गरी आवश्यक प्राविधिक सुझावहरु तयार गर्ने र ती सुझावलाई बुलेटिनको रुप दिई ७५३ पालिकामा पठाउने र विभिन्न माध्यमबाट पचारप्रसार गर्ने गरिएको छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार उक्त बुलेटिन नेपाल टेलिभिजन, विभिन्न एफएम रेडियोहरु, नार्क वेबसाइट, नार्क कृषि मोबाइल एप्स, कृषि प्रविधि सञ्चारको फेसबुक पेजबाट प्रसारण एवं प्रकाशन हुने गरेको छ ।

उपाध्यायले आफूले पनि ५ बर्ष यो बुलेटिन बनाउँन संलग्न रहँदा सरोकारवालाहरुको प्रतिकृया राम्रो पाएपछि गण्डकी प्रदेशमा पनि प्रादेशिक बुलेटिन बनाउन पहल गरेको र हाल गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले समन्वय गरी कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, वागवानी अनुसन्धान केन्द्र मालेपाटन, पशुपञ्छी विकास निर्देशनालय, जल तथा मौषम विज्ञान विभाग, लिबर्ड लगायतका कार्यालयहरुको सहकार्यमा गत बर्षदेखि गण्डकी कृषि मौसम सल्लाह बुलेटिन प्रकाशन भइरहेको जानकारी दिए ।

उक्त केन्द्रका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले बुलेटिनमा भएका महत्वपूर्ण प्राविधिक र मौषम सम्बन्धि सुभावहरु मोबाइल सन्देश (एसएमएस) का रुपमा कृषक तथा आम सरोकारवालाहरुलाई साप्ताहिक रुपमा पठाउने गरिएको र हालसम्म करिब तीन हजार मोबाइल प्रयोगकर्ता यससँग जोडिएको र जोडिने क्रम जारी रहेको जानकारी दिए । यस बर्ष मात्रै ५० हजार मोबाइल प्रयोगकर्ता जोडने लक्ष्य रहेको छ । उक्त केन्द्रका वैज्ञानिक जीवन लामिछानेले बुलेटिनका सुझावहरु कृषकस्तरमा प्रभावकारी भए नभएको बारे विस्तृत अध्ययन गरिरहेको बताए ।

चितवन जिल्लाका अग्रणी कृषक सिताराम अर्यालका अनुसार हरेक हप्ता नेपाल टेलिभिजन न्यूजबाट प्रसारण हुने कृषि मौसम सल्लाह बुलेटिन तथा नार्कबाट पठाइने गरिएका मोवाइल एसएमएस हेर्ने गरेको बताए । उनले उक्त सूचनाबाट मौषमी तथा प्राविधिक सुझावहरुको जानकारीले कृषि कर्ममा धेरै सहयोगी भएको बताए ।

साथै तराई, पहाड र हिमाली क्षेत्रलाई मात्र समेटेर सुझाव दिने गरिएकोमा चितवन जस्ता भित्री मधेशमा पर्ने ठाउँलाई पनि समेट्न सके धेरै सजिलो हुने उनको सुझाव थियो । साथसाथै मौसमी सल्लाहमा केही स्थानहरुमा पानी पर्ने सम्भावना भनी बताइने गरिएकोमा त्यसलाई सम्बन्धित स्थान नै तोकी दिन सके अझ प्रभावकारी हुने समेत बताए ।

खोटाङ जिल्लाका कृषक प्रेम गुरुङका अनुसार हरेक हप्ता नार्कबाट मोवाइलमा पठाइने गरिएको एसएमएस हेर्ने गरेको बताए । उनका अनुसार यसरी प्राप्त सूचनाबाट मौसमी तथा प्राविधिक सुझावहरुको जानकारीे कृषि कर्ममा धेरै उपयोगी हुने गरेको बताए ।

अछामको दुर्गम ठाउँ बल्याल्तका कृषक हर्कबहादुर रावलले प्राविधिक र सञ्चारको असुविधा भएका ठाउँमा कृषि मौषम सल्लाहका सन्देशहरु मोबाइलमा एसएमएस प्राप्त गर्ने गरेकोमा खुशी व्यक्त गरे । सुझावको खाँचो खड्केको बेलामा खोजेको सन्देश प्राप्त हुँदा आनन्द आउने गरेको उनले बताए ।

Related posts

पाेखरियामा नेवि संघकाे समिति गठन

hamronepaldainik

सिट क्षमता भन्दा बढि यात्रु बोकी रुट पर्मिट विना महानगरमा टेम्पो कुद्दै

hamronepaldainik

त्रिभुवन विमानस्थलमा अनलाइन भुक्तानीको ‘भर छैन’, नगद बोकेर आउन पर्यटकलाई आग्रह

hamronepaldainik
HamroNepalDainik