HamroNepalDainik.com
राजनीतिराष्ट्रियसमाचार

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

१५ असोज, काठमाडौं । तीन पटकको स्थगनपछि नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरू भएको छ । राजधानी उपत्यकाको रिङरोडबाट झण्डै दश किलोमिटर दक्षिण गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुरू भएको विधान महाधिवेशन एमाले पार्टी जीवनमा पहिलो अभ्यास हो ।

यसअघि एमालेले नेतृत्व चयन र नीति विमर्श एकैपटक गर्दै आएको थियो । नवौं महाधिवेशनसम्म कायम त्यस्तो अभ्यासले नेतृत्व चयनमा मात्रै ध्यान केन्द्रीत हुने र पार्टी कार्यक्रमबारे छलफल नगर्ने प्रवृत्ति अन्त्य गर्न अलग-अलग महाधिवेशनको थालनी गरिएको केन्द्रीय सदस्य विशाल भट्टराई बताउँछन् । ‘नेतृत्व चयन र विधिविधान तय गर्ने महाधिवेशन अलग-अलग गर्दा समृद्ध पार्टी निर्माणमा बल पुग्छ । नेपालकै इतिहास र एमाले पार्टी जीवनमा यो नयाँ अभ्यास हो’, भट्टराई भन्छन् ।

राजनीतिक कार्यदिशा र संगठनात्मक पुनर्संरचना तय गर्न एमालेले तीन वटा प्रतिवेदन तयार पारेको छ । विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन पेश गरेका छन् ।

६ हजार हाराहारी प्रतिनिधि सहभागी गराएर तीन प्रतिवेदनमाथि विमर्श गरी पार्टी नीति तयार पार्ने एमालेको तयारी छ । पार्टीको विधि विधान र कार्यक्रममाथि केन्द्रीत रहेर बहस हुने यो विधान महाधिवेशनले एमालेलाई सूव्यवस्थित, संगठित र वैचारिक पार्टी बनाउने नेता भट्टराई दाबी गर्छन् ।

तर विधान महाधिवेशनको पहिलो दिनको दृश्य हेर्दा भने भट्टराईको दावीजस्तो आवश्यक छलफल हुने संभावना कम देखिन्छ । ‘यसका दुई कारण छन्- विधान महाधिवेशनका प्रतिनिधि संख्या र सहभागीहरुमा एकताबद्ध मनोविज्ञान नदेखिनू’, एक स्थायी कमिटी सदस्य भन्छन् । विधान महाधिवेशनको पहिलो दिन प्रतिवेदनमाथि छलफल गर्न बनाइएको समूह संख्या र दिइएको समयले हेर्दा पनि प्रतिवेदनहरू माथि पर्याप्त छलफल हुने संभावना छैन ।

६ हजार प्रतिनिधिलाई एमालेले दश समूहमा विभाजित गरेको छ । अर्थात् एक समूहमा औसत ६ सय जना हुनेछन् । ‘६ सय जनाको समूहमा चार घण्टाभित्र छलफल सक्नु भन्नुको अर्थ यो प्रक्रिया पूरा गर्ने काम मात्रै हुनेभयो’, एक सहभागी भन्छन् ।

१० वटा समूहलाई शनिबार आठ बजेदेखि चार घण्टाभित्र समूहगत छलफल गर्न समय दिइएको छ । यसको अर्थ स्थायी कमिटी र केन्द्रीय कमिटीमा जस्तै विधान महाधिवेशन हलबाट पनि प्रस्तावित प्रतिवेदनमा तलमाथि नहुने अनुमान गर्न सकिन्छ ।

अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेकै प्रतिवेदन केही हेरफेरसहित विधान महाधिवेशन हलमा पेश गरेका छन् । जबकी, यी प्रतिवेदनहरूमा एमालेभित्र एकमत छैन ।

विशेषगरी माधव नेपाललाई छोड्दै दशबुँदे सहमति गरी एमालेमै बसेका नेताहरुले राजनीतिक प्रतिवेदनमा असहमति जनाएका छन् । पार्टी विभाजन, प्रतिनिधिसभा विघटन र सरकार परिवर्तनबारे यी नेताहरुको असहमति छ । तर महाधिवेशन हलमा प्रस्तुत प्रतिवेदनहरूमा उनीहरुको असहमतिबारे उल्लेख छैन ।

पार्टी विभाजनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दोषी रहेको, प्रतिनिधिसभा विघटन सही भएको र अदालतको गलत फैसलाले सत्ताच्यूत हुनुपरेको ओलीकै दावी प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनजस्तै सहभागीको मनोविज्ञान समेत एकताबद्ध देखिएन । महाधिवेशन स्थलको दृष्यले पनि विधान महाधिवेशन ‘न उत्साह, न एकता’ का रुपमा अगाडि बढेको प्रष्ट हुन्थ्यो ।

जस्तो- एमालेमा यसअघि ओलीको तस्वीर सहितको ब्यानर राखेर सभा तथा कार्यक्रम हुने गरेको थियो । विशेषगरी गएको ५ पुसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि यस्तो प्रचलन चलेको थियो ।

तर दशबुँदे सहमति गरी एमालेमै बसेकाहरू भने ओलीको नभएर माक्र्स-एंगेल्स-लेनिनसहित पुष्पलाल-मनमोहन-मदन भण्डारीको तस्वीर मात्रै टाँगिनुपर्ने मत राख्ने गरेका छन् । महाधिवेशन हलको मुख्य मञ्चमा भने न ओलीको तस्वीर थियो, न पुष्पलाल-मनमोहन-मदन भण्डारीको । विधान महाधिवेशन हल बाहिर भने ओलीको ठूल-ठूला मास्कटहरु उभ्याइएको थियो । ओली समर्थकहरू त्यही तस्वीरसँगै उभिएर सेल्फी लिएर रमाए ।

जबकी एमालेले विधान महाधिवेशनलाई एमालेले एकता र शक्ति प्रदर्शनको सन्देश समेत दिन खोजेको छ । कोरोना महामारीको खतरा कायमै रहेका बेला ६ हजार प्रतिनिधि तय गर्नुले विधान महाधिवेशन शक्ति प्रदर्शनका रुपमा गर्न खोजिएको लुक्दैन । २ भदौमा एमाले विभाजित भइ नेकपा -एकीकृत समाजवादी) गठन भएको छ । उक्त पार्टीमा जान नेता-कार्यकर्ता रोक्न पनि विधान महाधिवेशनका प्रतिनिधि संख्यामा कडाइ नगरिएको नेताहरु बताउँछन् ।

अझ नेकपाएको एकता खारेजसँगै माओवादी केन्द्र छोडेर एमालेमा बसेका नेताहरू खूशी पार्न पनि प्रतिनिधि संख्यामा उदारता देखाइएको छ । यति गर्दा पनि प्रदेश-२ राम्रो प्रभाव राख्ने प्रभु साह र उनको समूहका कतिपय नेता सहभागी भएनन् । अर्थात् एउटै पार्टीको उत्साहका रुपमा नभएर तीन मोर्चाको महाधिवेशन जस्तो बन्न पुगेको छ ।

न सम्मान, न शुभकामना

पहिलो अभ्यासका रुपमा थालनी गरिएको विधान महाधिवेशन बन्दसत्रबाट शुुरू थियो । सहभागीहरुका निम्ति यो दृश्य अनौठो बन्यो । किनकि राजनीतिक पार्टीले उद्घाटन सत्रका रुपमा खुलासभा र सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।

उद्घाटन सत्रमा निकट राजनीतिक शक्तिका नेताहरुको शुभकामना लिने र शीर्ष नेताहरुले कार्यकर्तामा उत्साह जगाउने सम्बोधन गर्थे । तर शुक्रबार शुरू विधान महाधिवेशनमा यसअघि सार्वजनिक भइसकेका प्रतिवेदनहरू प्रस्तुत गरियो । जुन प्रतिवेदनहरू स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रस्तुत भइसकेको थियो भने सञ्चार माध्यममार्फत् कार्यकर्ता पंक्तिले पढिसकेका थिए ।

पहिल्यै थाहा भइसकेको लामो-लामो प्रतिवेदन साँझ अवेरसम्म नेताहरुले बाचन गरिरहँदा सहभागीहरूमा आलस्य देखिन्थ्यो । ‘विधान महाधिवेशन भएकाले पनि शुभकामना लिन फरक पार्टीका नेताहरु नबोलाइएको हो । नयाँ अभ्यास भएकाले त्यसको अनुभूति हुने नै भयो’, केन्द्रीय सदस्य ठाकुर गैरे भन्छन् ।

विधान महाधिवेशनको अर्को महत्वपूर्ण पक्ष भने एमालेका पूर्व प्रमुखहरू कोही थिएनन् । लामो समय एमाले नेतृत्व गरेका नेताहरू झलनाथ खनाल र माधव नेपाल एकीकृत समाजवादीमा छन् भने सीपी मैनालीले २०५४ मै एमाले छोडेका थिए ।

Related posts

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जमा प्रदर्शन

hamronepaldainik

जनता आवास कार्यक्रमको बजेटमा संयोजक देखि कार्यालय निमित्त प्रमुखको रजाई

hamronepaldainik

बरिष्ठ पत्रकार राघव साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग

hamronepaldainik
HamroNepalDainik