HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

६ कात्तिक, काठमाडौं । यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ । वर्षाैदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो ।
नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो ।
एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिनुभयो ।
‘‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’’
नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । ‘‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ ।’’
क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक रु आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिनुभयो । मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ ।
अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गर्नुभयो । ‘‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौँ,’’ उहाँले भन्नुभयो,‘ ‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।’’
मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको बताउनुभयो । उहाँले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।  (रासस)

Related posts

मुस्लिम युवक मियाले भुईपरि गर्दै पुगे छठ घाट

hamronepaldainik

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

hamronepaldainik

भारतीय स्वतन्त्रतामा नेपालको योगदानको चर्चा, नेपाली पत्रकार टोलीलाई भारतमा ठाउँठाउँमा स्वागत

hamronepaldainik
HamroNepalDainik