HamroNepalDainik.com
प्रदेशसमाचार

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ ।

मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम मुलुककै गौरवको योजना हो । हामीले ई–बिडिङबाट विधि, प्रक्रिया र खरिद ऐनलाई टेकेर काम गरेका छौं । तर अख्यितारले जुन किसिमले मिडियाबाजी गरेर छापा मार्यो, त्यसले हामीलाई भ्रष्टाचारी भनेर बदनाम गर्ने दुस्प्रयास गरिएको छ ।”

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई फोनमा आफूले नधम्काएको पनि उनले बताए । उनले थपे, “मुख्यमन्त्री कार्यालयको छानबिन गर्दा मलाई कुनै आपत्ति छैन । दोषी छ भने कारबाही गरे पनि हुन्छ । तर नाटकीय रुपमा भएको मिडियाबाजीका विषयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग मैले फोन गरेर शैली गलत भएको बताएँ, उहाँले पनि स्वीकार गर्नुभयो । अख्यितार भनेको पनि आकाशबाट, इन्द्रलोक, चन्द्रलोक या अर्को संसारबाट आएको त होइन नि ?”संघीयता विरोधीले प्रदेश सरकारविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ । उनले भने, “म विगतदेखि नै संघीयतालाई बलियो बनाउन लागेको व्यक्ति हुँ । भ्रष्टाचार विरुद्ध पनि लडिरहेका व्यक्ति हुँ । त्यस्तो व्यक्तिलाई भ्रष्ट भन्ने ? त्यो खरिद प्रक्रियामा त हामीले साढे ३ करोड रुपियाँ बँचाएका हौं ।”

मुख्यमन्त्री राउतले आफूले त्यस प्रकरणमा राजीनामा नदिने पनि बताए । उनले भने, “म छानबिनमा सहयोग गर्न तयार छु । मेरो छापामारी प्रक्रिया र नाटकीय प्रस्तुतिमा हो । कसैले भ्रष्ट भन्दैमा मैले किन छाड्ने ? कसैले आरोप लगायो भन्दैमा छाड्नुपर्छ र ?”

Related posts

समाजवादी प्रेस संगठन पर्साकाे बैठक सम्पन्न, महासंघकाे गलत रवैयाकाे शसक्त विराेध गर्ने निर्णय

hamronepaldainik

कालिकामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ यादव

hamronepaldainik

बाँसखर्कको लोकप्रिय सुन्तला व्यावसायिक उत्पादनका लागि उन्मोचित

hamronepaldainik
HamroNepalDainik